सामाजिक सञ्जालमा पार्टी विरूद्ध लेख्नेलाई अनुशासनको कार्वाही गर्ने पर्वत काँग्रेसको चेतावनी

पर्वत/सामाजिक सञ्जालमा पार्टी संगठन र पार्टी नेतृत्वको विरूद्धमा जथाभावी लेख्ने वा बोल्ने जोकोही नेता कार्यकर्ताहरूलाई पनि अब पार्टी अनुशासनको कार्वाही गर्ने नेपाली काँग्रेस पर्वतले चेतावनी दिएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा पार्टी संगठनको विरूद्धमा भ्रामक कुराहरू आउन थालेको र त्यसले निष्ठावान कार्यकर्ताको मनोबल घटाएको भन्दै सोमवार बसेको नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको पदाधिकारी बैठकले पार्टीमा अनुशासन कायम राख्नुपर्ने निष्कर्ष निकालेको थियो । पदाधिकारी बैठकपछि पार्टी प्रवक्ता अच्युत तिवारीद्वारा प्रेषित प्रेस विज्ञप्तीमा सबै नेता कार्यकर्तालाई पार्टी विधान र पार्टी अनुशासनको पालना गर्न आग्रह गरिएको छ । विज्ञप्तीमा नेतृत्वका विषयमा केही सुझाव, गुनासा, आलोचना र असहमती भए विधिपूर्वक राख्न अपिल गर्दै, संगठनको हित विपरीतका अराजक गतिविधि नगर्न नगराउन सबै तहका नेता कार्यकर्तालाई निर्देशन दिइएको छ ।

पार्टीले सबैका रचनात्मक सुझावलाई शिरोधार्य गर्दै अघि बढ्न तयार रहेको जानकारी दिँदै १४ औं अधिवेशनबाट निर्बाचित भएर आएपछि पार्टीलाई एकढिक्का बनाउन जिल्ला नेतृत्वले पार्टीका पूर्व पदाधिकारीहरू, महाधिवेशन प्रतिनिधिहरू र भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रमुखहरूसँग निरन्तर परामर्श र छलफल गरि उनीहरूले नै दिएको सुझाव र सल्लाहको आधारमा सांगठनिक गतिविधिहरू अघि बढाएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । सामाजिक सञ्जाल, चोक र गल्लीमा गरिने टिका टिप्पणीले पार्टीका निष्ठावान कार्यकर्ताको मनोबल घट्ने र संगठन कमजोर हुने भन्दै संगठनको हित विपरित गतिविधि गर्ने जोकोहीलाई पनि विधान बमोजिम कार्वाही गरिने वताइएको छ । साथै विज्ञप्तीमा पार्टीहित विपरित आउने त्यस्ता अराजक र भ्रामक गतिविधिबाट सतर्क रहन सबैलाई अपिल गरिएको छ ।

त्यसैगरि पदाधिकारी बैठकले पार्टी परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका नेवि संघका पूर्व अध्यक्ष मिलन सुवेदी, तरूण दलका जिल्ला सचिव सागर भुसाल र फलेवास नगरकार्यसमितिका सचिव चित्र शर्मालाई पार्टी अनुशासन समितिको सिफारिसका आधारमा नेपाली काँग्रेसको साधारण सदस्यता समेत खारेज गर्ने निर्णय गरेको छ जनाएको छ ।