अवैध तरिकाले ढुङ्गा उत्खनन गरि विक्रीका लागि पोखरातर्फ हिँडेको ट्रक प्रहरीको कब्जामा

असोज, ८, पर्वत/ अवैध तरिकाले ढुङ्गा उत्खनन गरि विक्रीका लागि पोखरातर्फ लग्न थालिएको एक ट्रकलाई आइतवार डिमुवा प्रहरी चौकीले कब्जामा लिएको छ । अवैध तरिकाबाट उत्खनन गरि गाउँपिालिकालाई कर समेत नतिरीकन भागेर हिँडेको अवस्थामा ना ६ ख ४५७३ नम्बरको उक्त ट्रकलाई प्रहरीले पक्राउ गरेको हो । ट्रकमा कटिङ गरिएको १०/१२ लाख बराबरको कटिङ ढुङ्गा भएको अनुमान गरिएको छ । उक्त ढुङ्गा जलजला गाउँपालिकाका भरत जिसी र बवि जिसीको भएको बुझिएको छ ।

पक्राउ गरिएको उक्त ट्रकलाई पत्रसहित जिल्ला प्रहरी कार्यालयलाई पठाइने र जिल्लाले जलजला गाउँपालिकालाई बुझाउने डिमुवा प्रहरी चौकीका प्रमुख भूवन वरालले जानाकारी दिए । ‘अवैध चोरी निकासी गर्नेलाई कस्तो कार्वाही गर्ने भन्ने कुरा गाउँपालिकाको हो, हामीले त पक्राउ गरेर बुझाउने हो ।’– वरालले भने । दर्ता नगरी खानी संचालन गर्ने र स्थानीय तहलाई कर समेत छलेर अबैध विक्री गर्ने व्यक्तिलाई कडा कार्वाही गरिनुपर्ने स्थानीयको माग छ ।

मार्वलको विकल्पका रुपमा प्रयोग हुँदै आएको ढुङ्गे टायलको जलजला गाउँपालिकाभित्र धेरै ठूलो सम्भावना छ । चट्टानी ढुङ्गालाई मेसिनले आकर्षक साइजमा काटेर यो टायल निकाल्ने गरिन्छ । आजकल यसको प्रयोग बढ्दो मात्रामा छ । यस्तो टायलको अबैध निकासी पनि त्यतिकै मात्रामा बढ्दै गएको छ ।