नेपाली काँग्रेस पार्टी र जनप्रतिनिधि बीच मैत्रीपूर्ण संवाद: पार्टीसँग समन्वय गरेर अघि बढ्ने जनप्रतिनिधिको प्रतिबद्धता

पर्वत/नेपाली काँग्रेस पर्वत र जिल्लाका जनप्रतिनिधिहरूको बीचमा मैत्रीपूर्ण संवाद कार्यक्रम सम्पन्न भएको छ । जनप्रतिनिधि र पार्टीबीचको समन्वय र सहकार्यलाई थप बलियो र प्रभावकारी बनाउने उद्देश्यले पार्टीका पदाधिकारी र नगरपालिकाका प्रमुख, गाउँपालिकाका अध्यक्ष र वडाअध्यक्षका बीचमा समन्वयात्मक बैठक आयोजना गरिएको पार्टी सभापति युवराज जोशीले जानकारी दिनुभयो । बैठकमा जनप्रतिनिधि र पार्टीको अन्तरसम्बन्धको विकास, समन्वयात्मक भूमिका र संगठनप्रतिको जनप्रतिनिधिको जवाफदेहिताको वारेमा छलफल भएको थियो ।

बैठकमा बोल्दै पार्टी सभापति युवराज जोशीले जनप्रतिनिधिले जनताको भावनालाई बुझेर काम गर्दामात्रै काँग्रेसको संगठन थप सुदृढ हुने वताउँदै जनप्रतिनिधिहरू जनताप्रति जवाफदेही र उत्तरदायी भएर काम गर्न निर्देशन दिनुभएको थियो । सभापति जोशीले काँग्रेसका जनप्रतिनिधिको गुनासो पार्टीमा नआयोस र सार्वजनिक सरोकारका मुद्दामा काम गर्दा जनप्रतिनिधिले पार्टीसँग समेत समन्वय गरेर काम गर्ने वातावरण सिर्जना होस् भनेर यो कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । सभापति जोशीले पार्टी संगठनलाई थप गतिशील बनाउन पार्टीका हरेक तहमा अन्तरसंवाद कार्यक्रम गरिने दावी गर्नुभयो । कार्यक्रममा पार्टीका उपसभापति एवं प्रशिक्षण विभागका प्रमुख डाक्टर चूडामणि शर्माले काँग्रेसले निकट भविष्यमै जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिनुभयो । उपसभापति शर्माले कार्यकर्ताको माग बमोजिम प्रशिक्षण विभागको तर्फबाट आगामी दिनमा पहिले जिल्लास्तर र क्रमशः प्रदेश, पालिका र वडातहसम्म प्रशिक्षण कार्यक्रम आयोजना गरिने वताउनु भयो । प्रशिक्षणको लागि केन्द्रबाट ख्यातीप्राप्त प्रशिक्षकहरू ल्याइने र नेता तथा कार्कार्यकर्तालाई सांगठनिक नीति र नेतृत्व विकासका सम्बन्धमा प्रशिक्षित गरिने शर्माले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका पार्टी सभापति युवराज जोशीको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपसभापति, डाक्टर चूडामणि शर्मा, उपसभापति शिवप्रसाद सुवेदी, सचिवहरू द्वय गुप्तनिधि शर्मा र अशोक उचै ठकुरी, कोषाध्यक्ष हेम शर्मा पौडेल र पार्टी प्रवक्ता तथा सहसचिव अच्युत तिवारी सहभागी हुनुहुन्थ्यो भने जनप्रतिनिधिको अर्फबाट कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, विहादी गाउँपालिकाका अध्यक्ष प्रविण गुरूङ, पैयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल (राज) र विभिन्न वडाका वडाअध्यक्षहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी जनप्रतिनिधिले आगामी दिनमा पार्टीसँग समन्वय गरेर काम गर्ने, लेवी समयमै भुक्तानी गर्ने र पार्टीसम्म जनगुनासो आउन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।