सरकारले यातायात समितिको खाता फुकुवा गरिदिने भएपछि  असोजको ५ गतेदेखि दसैंको टिकट बुकिङ हुने 

असोज १, पर्वत/ सरकारले रोक्का गरेको यातायात व्यवसायीको खाता खोल्ने भएपछि दसैंको अग्रिम बुकिङ टिकट खुल्ने भएको छ । सरकारले वैशाख ४ गते २ सय ४५ यातायात संघ, समितिको खाता रोक्का गरेको थियो । उक्त बैंक खाता पुनः व्यवसायीकै संघ, समितिका नामबाटै सञ्चालन गर्न पाउनुपर्ने मागसहित आइतबार यातायात व्यवस्था विभागमा विभागका पदाधिकारी र यातातात व्यवसायीबीच ३ घण्टा लामो छलफल भएको हो । उक्त छलफलले सडकको अवस्था हेरेर सरकारले तोकेभन्दा बढी भाडा लिन पाउने, यात्रुबाहक सवारीको छतमा सामान राख्न पाउनुपर्ने मागमा पनि विभाग लचिलो देखिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका एक पदाधिकारीले जानकारी दिए ।
“हाम्रो मुख्य माग रोकिएको बैंक खाता पुनः सञ्चालन गर्न पाउनुपर्ने नै हो यसका साथै इन्धन र  स्पेयर पार्टस्को मूल्यवृद्धिअनुसार भाडादरमा पनि वृद्धि हुनुपर्छ भन्ने हाम्रो माग हो,” ती पदाधिकारीले बताए ।

विभागले दसैंको टिकट सर्वसाधारणलाई सहज रुपमा उपलब्ध गराउन विभाग र व्यवसायी सहमत भएको विभागका निर्देशक तथा सूचना अधिकारी गोकर्णप्रसाद उपाध्ययले बताए । “व्यवसायीको रोकिएको खाता खोल्ने सहमति भएपछि दसैंको टिकट खोल्न व्यवसायी सहमत भएका छन्,” उपाध्यायले भने, “छलफलमा भाडादर भन्दा पनि बैंक खाता खोल्न नै व्यवसायीको बढी जोड रहेको थियो । सरकारी भाडादर नै कायम गरी सर्वसाधारण यात्रुलाई सहज रुपमा यातायात सेवा प्रदान गर्न हामी दुईपक्षबीच बाझिएका विषयमा थप छलफल र सहमति हुँदै जाने छ ।”

उपत्यकाबाट यो दसैंमा करिब ३० लाख यात्रु बाहिरिने विभागको आकलन छ । जसमा हाल संघ, समिति र कम्पनी प्रालिका नयाँ गरी देशभर करिब साढे ३ लाख सार्वजनिक बस, माइक्रो सुमोलगायतका सवारी सञ्चालनमा रहेका छन् ।