सम्पन्न नहुँदै भत्किएपछि मध्यपहाडी लोकमार्गका ठेकेदारलाई ७ दिने स्पष्टीकरण

पर्वत/राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको हटिया–बुर्तिबाङ खण्डमा निर्माण कम्पनीले कालोपत्रे सम्पन्न नगर्दै भत्किएपछि मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले ठेकेदार कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ ।

निर्माण कम्पनीले कालोपत्र गरेर सडक नबुझाउँदै सडकमा खाल्डा परेको, मापदण्डअनुसार कालोपत्र नसकेको र आवश्यक पूर्वाधार सम्पन्न नगरेको भन्दै आयोजना कार्यालयले ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको हो।

मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले निर्माण व्यवसायीका नाममा बुधबार एक सूचना प्रकाशित गर्दै सात दिनभित्र कार्यालयमा आएर लिखित स्पष्टीकरण पेस गर्न भनेको छ । मध्यपहाडी लोकमार्गमा काम सन्तोषजनक नभएपछि निर्माणको जिम्मा पाएको स्वच्छन्द–शंकरमाली जेभीलाई स्पष्टीकरण सोधिएको हो । हटिया–बुर्तिवाङ खण्ड निर्माणको प्रगति सन्तोषजनक नभएको भन्दै आयोजनाले सात दिनभित्र स्पष्टीकरण बुझाउन भनेको हो ।

स्वच्छन्द–शंकरमाली जेभीका आधिकारिक प्रतिनिधि हेमराज गुभाजुका नाममा आयोजनाले सात दिनभित्र आधिकारिक प्रतिनिधि स्वयं कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेस गर्न र सडक मर्मत तथा निर्माणको काम चाँडो सम्पन्न गर्न सूचना जारी गरिएको छ ।

कालोपत्र भएको सडकसमेत खाल्डा परेको, फिनिसिङ नगरेको र सम्झौताअनुसारको पूर्वाधार नबनाएको तथा पटक–पटक आयोजनाको निर्देशनलाई अटेरी गरेकाले स्पष्टकीकरण सोधेको मध्यपहाडी राजमार्ग आयोजना कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।

सात दिनभित्र निर्माण कम्पनी कार्यालयमा आएर उचित जवाफ नदिए प्रचलित कानुन एवं ठेक्का सम्झौताका शर्तबमोजिम कारबाही प्रक्रिया अघि बढाउने पनि आयोजनाले चेतावनी दिएको छ । ठेक्काअन्तर्गत सडक मर्मत तथा निर्माणको काम सन्तोषजनक नभएपछि र लामो समय बितिसक्दा हुँदा पनि कार्य प्रगति सुधार नभएपछि आयोजनाले स्वच्छन्द–शंकरमाली जेभीलाई पटक–पटक मौखिक तथा लिखित निर्देशन दिएको थियो ।