काठमाडौं/नेपाली काङ्ग्रेसका नेता एवं संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले लोकतन्त्र कमजोर बनाउन सुनियोजित रुपमा प्रेसमाथि आक्रमण भइरहेको दावी गरेका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आइतबार शुभकामना दिदै काङ्ग्रेस नेता खाणले प्रेसमाथिको सरकारी नियन्त्रणको आलोचना गरे । उनले लोकतन्त्र र प्रेस स्वतन्त्रता दुबै एकअर्काका पुरक भएको बताए । “प्रजातन्त्र र प्रेस स्वतन्त्रता एउटै सिक्काका दुई पाटा हुन्, उनले शुभकामनामा भनेका छन्, प्रजातन्त्रिक मुल्य मान्यता कमजोर बनाउन नेपाली प्रेसमाथि प्रहार गरिदै छ।”
नेता खाणले प्रेसमाथी नियन्त्रण गर्न खोज्ने शक्ति सधै पराजित हुँदै आएको प्रसङ्ग उल्लेख गर्दै सरकारलाई पनि व्यवहार सच्याउन चेतावनी दिएका छन् । “इतिहास साक्षी छ, अन्तत प्रेसमाथि प्रहार गर्ने शक्ति सदैव कमजोर हुने छ,” उनले भने । उनले काङ्ग्रेस सदैव प्रेस स्वतन्त्रताका पक्षमा उभिने प्रष्ट पार्दै प्रेस स्वतन्त्रताविरोधी कार्य सह्री नहुने बताए ।






