पोखरा/विश्वभरि फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९को महामारी विरुद्ध लड्न र यसबाट प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना राहत कोषमा गण्डकी क्रसर उद्योग व्यवसायी संघले आज पाँचलाख रुपैयाँ सहयोग गरेको छ । संघका अध्यक्ष संघका अध्यक्ष सुरेन्द्र त्रिपाठीको नेतृत्वमा पुगेको टोलीले मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई उक्त राहत रकम हस्तान्तरण गरेको गण्डकी क्रसर उद्योग व्यवसायी संघका कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकष्ण)ले जानाकारी दिनुभयो । उक्त राहत रकम विभिन्न व्यवसायीहरुबाट संकलन गरेर सरकारलाई हस्तान्तरण गरिएको कोषाध्यक्ष मल्लले वताउनु भयो ।
राहत रकम बुझेपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोना विरुद्धको सरकारको अभियानमा सहयोग गरेर क्रसर व्यवसायीहरुले पुण्यको काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । प्रदेश सरकारले कोरोनाका बिरामीको निशुल्क उपचार गर्नेदेखि राहत तथा अन्य व्यवस्थापनमा उक्त कोषको रकम खर्च गर्ने मूख्य मन्त्री गुरुङले जानाकारी दिनुभयो ।
विभिन्न विकसित राष्ट्रहरू पनि कोभिड(१९ महामारीबाट धेरै प्रभावित भएको बेला नेपालमा सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिको सङ्ख्या पनि अहिले ७५ नाघेको छ । सरकारले देशका विभिन्न स्थानमा परीक्षण विस्तार गरेपनि क्रमश सङ्क्रमितको सङ्ख्या बढ्न थालेको देखिन्छ । पुष्टि भएका सङ्क्रमितमध्ये केही जना निको भइसकेका छन् भने अन्यलाई विभिन्न स्थानमा आइसोलेशनमा अर्थात् अलग्गै राखेर उपचार गरिँदैछ । सङ्क्रमण भएको आशङ्का भएका तर प्रयोगशालाबाट परीक्षणको परिणाम नआएका केही मानिसहरू पनि अहिले आइसोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।