कास्की/ नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउनु भएको छ । केन्द्रीय कोषाध्यक्ष गुरुङले सोमवार कास्कीको मिजुरे डाँडा २ का नेपाली कांग्रेसका नेता एवं समाजसेवी स्वर्गीय गन्जमान गुरुङ र सहिद स्वर्गीय सुबेदार रतन सिंह गुरुङको स्मृतिमा नेपाल तरूण दलले आयोजना गरेको भलिबल प्रतियोगिताको समापन समारोहमा बोल्दै उक्त कुरा वताउनु भएको हो ।
काँग्रेसका युवा नेता समेत रहेका गुरूङले ओली सरकार राष्ट्रिय अन्तराष्ट्रिय रूपमा वदनाम भइसकेको उल्लेख गर्दै जनतामा कर थोपरेर सरकार धान्न उद्दत भएको वताउनु भयो । ‘झण्डै दुईतिहाइको साथ पाएको नेकपा सरकारले देशमा काण्डै काण्ड घटाएर वदनाम भएको छ । सरकारले राष्ट्रिय अन्तराष्ट्रिय विश्वास गुमाइसकेको छ ।’- नेता गुरूङले भन्नुभयो । उहाँले पछिल्लो समय सरकारले किताब र पेट्रोलियम पदार्थमा समेत कर लगाएर जनतामाथि थप अत्याचार गरेको दावी गर्नुभएको थियो । उहाँले पेट्रोलियम पदार्थमाथिको कर फिर्ता नगरे सरकार विरुद्ध तरूण दलले कडा सङ्घर्षका कार्यक्रम घोषणा गर्ने उद्घोष समेत गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गुरूङले भलिबल खेल स्वास्थ्य र सम्बन्धका लागि कोशेढुङ्गा सावित भएको उल्लेख गर्दै खेललाई संरक्षण गर्न तरूण दलले खेलेको भूमिका प्रसंशनीय भएको वताउनु भएको थियो । तरूण नेता गुरुङले खेलमा बिजयी सबै टिमलाई बधाई ज्ञापन समेत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल तरूण दल कास्कीका अध्यक्ष मनोज गुरुङ लगायतले बोल्नुभएको थियो ।






