जनतालाई निष्पक्ष न्याय दिन जलजलाको न्यायिक समिति सक्षम भएको अध्यक्ष मल्लको दाबी

पर्वत/मेलमिलापबाट विवाद समाधानमा स्थानीय न्यायिक समितिको भूमिकालाई प्रभावकारी बनाउन र न्याय निरूपणमा जनताको विश्वास दिलाउन जलजला गाउँपालिकाले आयोजना गरेको आठदिने तालीम आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ । तालिम समापनका अवसरमा बोल्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले न्यायिक समितिलाई कानूनी प्रावधानवारे आठदिने तालीमले प्रयाप्त जानकारी दिएको दावी गर्नुभयो । अध्यक्ष मल्लले हरेक स्थानीय तहमा न्यायिक समिति गठन भएपनि कानुनी ज्ञानको अभावमा निष्पक्ष न्याय सम्पादन गर्न कठिनाई भएको वताउँदै यो तालिमपछि मेलमिलापको माध्यमबाट विवाद समाधान गर्न र समितिको भूमिका जनतामा थप प्रभावकारी बनाउन निकै सहज हुने धारणा राख्नुभएको थियो ।

अध्यक्ष मल्लले अब जलजला गाउँपालिकामा स्थानीय झैझगडा, साँध सिमाना, घरेलु हिंसाजस्ता विवादलाई मेलमिलापमार्फत निरूपण गर्न सहज हुने जानकारी दिनुभयो । अध्यक्ष मल्लले स्थानीय सरकार भनेको जनताको नजिकको सरकार भएको उल्लेख गर्दै स्थानीय सरकारप्रति जनतालाई विश्वास दिलाउन स्थानीय तह बलियो हुनुपर्ने जिकिर गर्नुभयो । अध्यक्ष मल्लले न्यायिक समितिलाई थप प्रभावकारी बनाउन आगामी बर्ष वडातहमै पुगेर सबै वडाबासीहरूलाई आधारभूत कानूनी प्रशिक्षण दिने प्रतिबद्धता समेत जनाउनु भएको थियो । उहाँले तालिममा सहजीकरण गर्ने र सहभागी हुने सबैप्रति गाउँपालिकाको तर्फबाट आभार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जलजला गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक सीमा गर्बुजा पुनले कानून र अधिकार वारे समितिलाई प्रयाप्त जानकारी नहुँदा न्याय निरूपण गर्न समस्या भएको वताउँदै यो तालिमले निष्पक्ष न्याय सम्पादन गर्न आफ्नो समितिलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

तालिममा पूर्व मुख्य न्यायाधीश सुरेन्द्रवीर सिंह बस्न्यात, जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, जलजला गाउँपालिकाका कानूनी सल्लाहकार हरिनारायण रेग्मी, न्यायिक समितिका सदस्य शशी शर्माका साथै सहभागीहरूको तर्फबाट वुद्धि सुवेदी र तुलसी सुवेदी लगायतले बोल्नुभएको थियो । तालिममा जलजला गाउँपालिकाका नौवटै वडाका वडाअध्यक्षहरू र कार्यपालिकाका सदस्यहरु सहित ४५जनाको सहभागिता रहेको थियो ।

जलजला गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक सीमा गर्बुजा पुनको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन कर्मचारी देवराज पुरीले गर्नु भएको थियो ।