काँग्रेस नेता जोशीलाई पार्टीले दियो स्थानीय तह समन्वय विभाग प्रमुखको जिम्मेवारी

पर्वत/नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य अर्जुन जोशी नेपाली कांग्रेसको केन्द्रिय समिति अन्तर्गत स्थानीय तह समन्वय प्रमुखमा मनोनित हुनुभएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जोशीलाई शनिवार स्थानीय तह समन्वय प्रमुखका रुपमा मनोनित गर्नुभएको हो । नेपाली काँग्रेसको तर्फबाट पर्वत जिल्लामा तीन/तीन पटकसम्म चुनाब जितेर तीनपटक सम्म पार्टीको केन्द्रीय सदस्यका रुपमा समेत काम गरिसकेका जोशी पार्टीभित्र एक प्रभावशाली नेताका रुपमा परिचित हुनुहुन्छ । संघीयता कार्यन्वयनमा आइसकेपछि स्थानीय तह समन्वय विभाग पार्टीको महत्वपूर्ण विभाग मानिन्छ ।

पार्टी सभापति देउवाले पार्टीको विधान बमोजिम नेता जोशीसहित विभिन्न १३ वटा विभागमा १३ जना नेताहरूलाई विभागीय जिम्मेवारी प्रदान गर्नुभएको हो । विभागका अन्य प्रमुखहरूमा गोपालमान श्रेष्ठ संगठन विभाग ,रमेश रिजाल संघीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमुल्लाह मन्सुर मुस्लिम विभाग, आनन्द प्रसाद ढुंगाना वित्तीय तथा सहकारी संस्था समन्वय विभाग, अजयकुमार चौरसिया तराई मधेस समन्वय विभाग, महेन्द्र यादव यातायात व्यवसायी समन्वय विभाग, शंकर भण्डारी तरूण विभाग, सीता गुरूङ आदिवासी जनजाति विभाग, गोविन्द भट्टराई नेपाली जनसम्पर्क समिति समन्वय विभाग, चिनकाजी श्रेष्ठ उद्योग व्यापार विभाग, शिवप्रसाद हुमागाइ श्रमिक तथा ट्रेड युनियन विभाग, विश्वप्रकाश शर्मा (प्रवक्ता ) सुचना, सञ्चार तथा प्रचार विभागमा चयन भएका हुन ।

पार्टीको विधान तथा नियमावलीको व्यवस्था बमोजिम सभापति शेरबहादुर देउवा द्दारा केन्द्रीय कार्य समितिको आमान्त्रीत सदस्य पदमा कृष्ण किशोर घिमिरे (दाङ) गोपाल बस्नेत (झापा) सुधिर सिवाकोटी (झापा) मनोहर नारायण श्रेष्ठ (धनकुटा ) र ध्रुव बाग्ले (तनहुँ)बाट मनोनयन गरीएको हो ।