न्यायिक समितिलाई प्रभावकारी बनाउन जलजला गाउँपालिकाद्वारा न्याय सम्पादन सम्बन्धी तालिम

पर्वत/मेलमिलापबाट विवाद समाधानमा स्थानीय न्यायिक समितिको भूमिकालाई प्रभावकारी बनाउन र न्याय निरूपणमा जनताको विश्वास दिलाउन जलजला गाउँपालिकाले आयोजना गरेको आठदिने तालीम आज सम्पन्न भएको छ । तालिम समापनका अवसरमा बोल्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले न्यायिक समितिलाई कानूनी प्रावधानवारे आठदिने तालीमले प्रयाप्त जानकारी दिएको दावी गर्नुभयो । अध्यक्ष मल्लले हरेक स्थानीय तहमा न्यायिक समिति गठन भएपनि कानुनी ज्ञानको अभावमा निष्पक्ष न्याय सम्पादन गर्न कठिनाई भएको उल्लेख गर्दै यो तालिम मेलमिलापको माध्यमबाट विवाद समाधान गर्न र समितिको भूमिका जनतामा थप प्रभावकारी बनाउन कोषेढुङ्गा सावित हुने धारणा व्यक्त गर्नुभएको थियो ।

अध्यक्ष मल्लले अब जलजला गाउँपालिकामा स्थानीय झैझगडा, साँध सिमाना, घरेलु हिंसाजस्ता विवादलाई मेलमिलापमार्फत निरूपण गर्न सहज हुने जानकारी दिनुभयो । अध्यक्ष मल्लले स्थानीय सरकार भनेको जनताको नजिकको सरकार भएको उल्लेख गर्दै स्थानीय सरकारप्रति जनतालाई विश्वास दिलाउन स्थानीय तह बलियो हुनुपर्ने जिकिर गर्नुभयो । उहाँले तालिममा सहजीकरण गर्ने र सहभागी हुने सबैप्रति गाउँपालिकाको तर्फबाट आभार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जलजला गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक सीमा गर्बुजा पुनले कानून र अधिकार वारे समितिलाई प्रयाप्त जानकारी नहुँदा न्याय निरूपण गर्न समस्या भएको वताउँदै यो तालिमले निष्पक्ष न्याय सम्पादन गर्न आफ्नो समितिलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

तालिममा पूर्व मुख्य न्यायाधीश सुरेन्द्रवीर सिंह बस्न्यात र न्यायधीश नारायण दाहालले सहजीकरणभएको थियोभने उक्त तालिममा जलजला गाउँपालिकाका नौवटै वडाका वडाअध्यक्षहरूको सहभागीता रहेको थियो ।

जलजला गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक सीमा गर्बुजा पुनको सभापतित्वमा भएको उक्त तालिम उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले गर्नुभएको थियो भने कार्यक्रमको संचालन कर्मचारी देवराज पुरीले गर्नु भएको थियो ।