जनताको सेवाका लागि जलजला गाउँपालिकाद्वारा एम्वुलेन्स संचालन

पर्वत/ पर्वतको जलजला गाउँपालिकाले गाउँलेहरुलाई सेवा दिन एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । विकट गाउँलेहरुलाई विरामी परेको बेला तत्कालै अस्पताल पु¥याउन सहयोग पुगोस भन्ने उद्धेश्यले एम्बुलेन्स सेवा संचालनमा ल्याइएको हो । भारतीय दुतावासको सहयोगमा प्राप्त भएको उक्त एम्बुलेन्स केहि समय अघि सम्म मल्लाज स्वास्थ्य चौकी मातहत संचालन हुँदै आएको थियो । तर विग्रिएर आर्थिक अभावका कारण मर्मत हुन नसकेपछि त्यत्तिकै थन्किएको एम्बुलेन्स गाउँपालिकाले मर्मत गरी आफ्नै मातहतमा संचालन गर्न थालेको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले  जानकारी दिनुभयो  ।  अध्यक्ष मल्लले जलजला  गाउँपालिकाका सबै नागरिकको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले आफ्नै एम्वुलेन्स संचालनमा ल्याएको वताउनु भयो  ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार विग्रिएर थन्किएको एम्बुलेन्स झण्डै रु एक लाख रुपैया खर्च गरि संचालनमा ल्याईएको हो । यसले गाउँपालिकाका ९ वटै वडा तथा बेनी–मालढुंगा सडकमा हुने दुर्घटना लगायत छिमेकी जिल्ला म्याग्दी, बागलुङ र पर्वतका विभिन्न पालिकाहरुका बासिन्दाहरुलाई सहज रुपमा सेवा दिने भएको छ । गाउँपालिकाले संचालन गरेपनि एम्बुलेन्स सेवा लिनेहरुका लागि भाडादर समेत कायम गरिएको छ । जलजलादेखि पोखरासम्मको भाडादर रु. ३ हजार पाँच सय कायम गरिएको छ भने अन्यत्र किलोमिटरका हिसावले दररेट समेत निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत  शर्माले  जानकारी दिनुभयो ।  उहाँका अनुसार कसैलाई एम्बुलेन्स आवश्यक परेमा गाउँपालिका वा चालकलाई सम्पर्क गरेर सेवा लिन सकिने छ । एम्बुलेन्स सेवा संचालनका लागि गाउँपालिकाको वडा नं. ३ का अध्यक्ष तथा प्रवक्ता देवेन्द्रवहादुर भण्डारीलाई एम्बुलेन्स संचालक समितिको संयोजक तोकिएको छ ।