सरकारका दुई बर्ष उपलब्धीविहीन भएको काँग्रेस नेता निधिको टिप्पणी

पर्वत/ नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारका दुई वर्ष उपलब्धिबिना सकिएको टिप्पणी गर्नुभएको छ । पर्वतको कुश्मामा आज अगुवा कार्यकर्ताहरूलाई सम्वोधन गर्दै नेता निधिले सरकारले जनअपेक्षा पूरा नगरेको आरोप लगाउनुभयो ।
अहिलेको सरकारका मन्त्रीहरू अघिल्लो काँग्रेस नेतृत्वको सरकारले सुरु गरेका विकास निर्माणका योजनाको रिवन काट्दै हिँडेको दावी गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका निधिले सरकारले घोषणापत्रमा उल्लेख गरेका काम गरेर देखाउन तत्पर नरहेको आरोप लगाउनुभयो । जनताले ठूलो अपेक्षा लिएर दुई तिहाइ मत दिए पनि कम्युस्ट सरकार जनताका आवश्यकता पूरा गर्ने कुरामा चुक्दै आएको निधिको भनाइ छ । देशमा रेल, पानी जहाज जस्ता महत्वाकाङ्क्षी चुनावी घोषणा गरेको सरकारको काम गराइ कछुवाको गतिमा रहेको भन्दै उहाँले आलोचना गर्नुभयो । सरकारले नयाँ नयाँ मुद्धा सिर्जना गर्ने र चर्चामा रहेको मुद्धालाई ओझेलमा पार्ने षडयन्त्र गरिरहेको निधीले आरोप लगाउनुभयो । उहाँले पार्टी महाधिबेशनको तयारीमा लागेको भन्दै पार्टीभित्र विभाग र संगठनले पूर्णता पाईसकेकाले अव पार्टिले गति लिने विश्वास पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली  काँग्रेस केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले नेपाली काँग्रेसलाई गाली गरेर र जनतालाई सपनाका पोका बाँडेर सत्तामा पुगेको कम्यूनिष्ट सरकार अहिले दिनदिनै बदनाम भएको बताउनुभयो । देशमा आर्थिक सूचकहरु कमजोर देखिएको, परराष्ट्र नीति असन्तुलित भएको, देशमा भष्टचार बढेको, भष्टचार ,बलत्कार, हत्या, हिँसा गर्ने अपराधीहरुलाई सरकारले संरक्षण गर्न थालेको भन्दै जोशीले आलोचना गर्नुभएको थियो । तीन तीन पटक आफुलाई जनताले जिताएर ठूलो गुन लगाएको बताउँदै जनताको अपार माया र प्रेम लाई आत्मासाथ गरेर अगाडी बढ्ने बताउनुभयो । आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई एकजुट हुन र संगठन बलियो बनाउन जोशीले आग्रह गर्नुभएको थियो । काँग्रेस पूर्व पार्टि सभापती नवराज गुरुङले पार्टि भित्र देखिएको मतभेदलाई समाप्त पार्नुपर्ने बताउनुभयो । काँग्रेस फुटेर नभई जुटेर जानुपर्छ भन्ने गाउँका कार्यकर्ताहरुले भन्ने गरेको स्मरण गर्दै गुरुङले काँग्रेसको संगठनलाई एकता बद्ध बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य ललितकला गुरुङ, नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्वतका कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण),  कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, नेपाली काँग्रेसका महासमिति सदस्य राधा कुवँर क्षेत्री,  कर्मचारी यूनियन संघका केन्द्रिय उपाध्यक्ष एवं गण्डकी प्रदेश संयोजक शिव शर्मा अधिकारी, महिला संघका सचिव मूना शर्मा लामिछाने, नेविसंघका अध्यक्ष मिलन सुबेदी, दलित संघका अध्यक्ष यामवहादुर परियार शिव, पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी लगायतले बोल्नुभएको थियो ।

कार्यक्रम नेपाली काँग्रेस पर्वतका जिल्ला सभापती खिमप्रसाद भुसालको सभापतीत्वमा सम्पन्न भएको थियो भने स्वागत कोषाध्यक्ष यामबहादुर मल्ल रामकृष्णको स्वागत र सचिव अशोक उच्चै ठकुरीको सञ्चालनमा सम्पन्न भएको थियो ।