काँग्रेसको केन्द्रीय अनुशासन समितिद्धारा तरूण दल महासचिव शाहीसँग लिखित स्पस्टिकरण माग

काठमाडौ/नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीसँग पार्टीको केन्द्रीय अनुशासन समितिले लिखित स्पष्टिकरण मागेको छ। महासचिव शाहीले पार्टीको विधान विपरित काम गरेको भन्दै तरुण दलका अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तमकुमार चापागाई र कोषाध्यक्ष विद्वान गुरुङ्गसहितले अनुशासन समितिमा उजुरी दिएका थिए । सो उजुरीको प्रक्रिया सुरु गर्दै कांग्रेसको अनुशासन समितिले केही दिनअघि महासचिव शाहीसँग लिखित स्पष्टिकरण माग गरेको हो । शाहीले पार्टीको नीति विपरित अभिव्यक्ति दिएको तथा पार्टीका नेताहरुको मानमर्दन गरेको आरोप छ ।

उनले तरुण दलका अध्यक्ष जितजंग बस्नेतलाई पदबाट हटाएको भन्दै सूचना जारी गरेको पनि उल्लेख छ । अध्यक्ष, उपाध्यक्ष तथा कोषध्यक्षसहितले गएको भदौ २७ गते बसेको बैठकको निर्णयसहित अनुशासन समितिमा महासचिव शाहीविरुद्ध उजुरी दिएका थिए । अनुशासन समितिले सात दिनको समय दिएर गएको शुक्रबार लिखित स्पष्टिकरण माग गरी कारवाहीको प्रक्रिया अघि बढाएकाे हो । पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण मागेपछि शाही अफ्ठयारोमा परेका छन् । यदि पार्टी अनुशासन समिति कठोर भयोभने शाही तरुण दलको महासचिव पदबाट मात्रै नभएर नेपाली काँग्रेसको साधारण सदस्यबाट समेत हट्न सक्ने खतरा छ ।