पर्वत/नमूना विद्यालयको रुपमा विकास हुँदै गरेको पर्वतको कुश्मा नगरपालिका ४ मा रहेको नारायण माध्यमिक विद्यालयमा निर्माण हुन लागेको नयाँ भवनको आज शिलन्यास गरिएको छ । भवनको विद्यालयका संस्थापकहरुको प्रतिनिधित्व गर्दै स्वर्गीय अमृतप्रसाद जोशीकी धर्मपत्नी बालकुमारी जोशीले शिलन्यास गर्नुभयो ।
विजयादशमी अन्तर्गत घटस्थापनाको दिनमा शुभ साइत पारेर शिलन्यास गरिएको विद्यालयका प्रधानाध्यापक अम्बिकादेवी लोहनी आचार्यले जानकारी दिनुभयो । भवन निर्माण समितिका अध्यक्ष मुक्तिराम शर्माका अनुसार नयाँ बन्न लागेको भवनको लागि झण्डै ४ करोड १६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने यसको निर्माण कार्य ३ बर्षभित्रमा पूरा गर्ने लक्ष्य राखिएको छ । शिक्षा मन्त्रालयको क्रमागत योजना अन्तर्गत भवन बन्न लागेकोले भवनका लागि थप रकम आवश्यक पर्न गएमा मन्त्रालयले नै बजेट बिनियोजन गर्ने छ । नयाँ भवनमा २४ ओटा कोठा बन्नेछन भने भवन अपाँगमैत्री बनाउन लागिएको छ ।
भवनको तेश्रो तलासम्मै पुग्नको लागि ह्विलचियर गुडाउन मिल्ने गरी ¥याम्प पनि बनाइने छ । विद्यालयका सूचना अधिकारी गोविन्द पोखरेलका अनुसार विद्यालयको भौतिक पक्षको सुधार अन्तर्गत भवनको निर्माण आरम्भ गरिएको हो भने नमूना विद्यालय बन्नको लागि शैक्षिक र व्यवस्थापकीय पक्षको सुधारका लागि पनि बिभिन्न योजनाहरुलाई प्राथमिकताको आधारमा कार्यान्वयन गर्ने क्रम चलिरहेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमाकान्त शर्माले शिक्षा मन्त्रालयले देशभरका बिभिन्न एक हजार विद्यालयहरुलाई नमूना विद्यालयको रुपमा विकास गर्न लागेको र त्यसमा नारायण मा.वि पनि रहेकोले आपूmहरुले विद्यालयलाई नमूना बनाउनको लागि बिभिन्न योजनाहरु तयार पारेर सोही अनुसार कार्यान्वयनको अवस्थामा रहेको जानकारी दिनुभयो । नारायण माध्यमिक विद्यालयमा झण्डै १३ सय जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्यार्थीको उच्च चाप रहेको भएपनि आवश्यकता अनुसारको शिक्षक दरबन्दी नहुँदा समस्या भइरहेको विद्यालय प्रशासनले जनाएको छ ।
जिल्लाका कतिपय विद्यालयहरुमा विद्यार्थी भन्दा शिक्षक धेरै हुने सम्मको अवस्था रहँदा पनि नारायण माध्यमिक विद्यालयमा भने आवश्यकता अनुसारको शिक्षकहरुको व्यवस्थापन नगरिँदा विद्यार्थीको चाप धान्न नै मुस्किल भइरहेको छ । तर पनि विद्यालयमा शैक्षिक गुणस्तर कायम गरी विद्यालयलाई नमूनाको रुपमा लैजान आपूmहरु लागिपरेको शिक्षकहरुको भनाई छ । शिक्षा मन्त्रालयले पर्वत जिल्लाका ५ ओटा विद्यालयहरुलाई नमूना विद्यालयको रुपमा विकास गर्न लागिरहेको छ । जसमा नारायण माध्यमिक विद्यालय सहित खुर्कोटको हिमालय माबि, मुडिकुवाको माटेदेवल जनसहयोगी माबि फलेवासको भवानी विद्यापिठ मावि र तिलाहारको नवजागृत मावि रहेका छन् ।






