काठमाडौं/कालीगण्डकीको सभ्यता बचाउ अभियानलाई प्रभाबकारी रुपमा अघि बढाउनका लागि धौलागिरीका सरोकारवालाले आग्रह गरेका छन् । धौलागिरी समाज नेपालको शुक्रबार काठमाडौंमा आयोजित साधारण सभाको अवसरमा बोल्ने बक्ताहरुले यस्तो धारणा राखेका हुन् ।
गण्डकी सभ्यता बचाउन अभियान सञ्चालन गरिरहेको धौलागिरी समाज नेपाललाई कालीगण्डकी नदी, त्यहाँ पाइने शालिकग्राम शीलाको संरक्षणमा नेतृत्वदायी भूमिका लिएर क्रियाशिल हुन सुझाब दिए । कार्यक्रममा धौलागिरीको पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङबाट काठमाडौंमा आई विभिन्न पेशा, व्यवसाय, सामाजिक, राजनीतिक क्षेत्रमा क्रियाशिल व्यक्तिको सहभागिता थियो ।
पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठले कालीगण्डकीको सभ्यता हिन्दु र बौद्ध धर्मालम्बीको संगम स्थलसहितको सभ्यता भएको बताए । पवित्र कालीगण्डकी नदीसँग प्राचिन सभ्यता जोडिएकाले यसको संरक्षण अभियानको नेतृत्व गर्न धौलागिरी समाजलाई श्रेष्ठले आग्रह गरे । अभियानमा साथ दिन आफू तयार रहेको बताए ।
कार्यक्रममा पूर्व मन्त्री तथा राष्ट्रिय सभाका सांसद दिननाथ शर्माले कालीगण्डकीको प्राचिन सभ्यतालाई जोगाउनु सबैको दायित्व भएको बताए । अहिले कालीगण्डकी नदीको दोहन भैरहेकोमा चिन्ता व्यक्त गर्दै लुम्बिनीदेखि लोमानथांङहुँदै मानसरोबरसम्मको मार्ग निर्माण गरेर पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्नेमा जोड दिए
पूर्व मन्त्री मिनबहादुर खत्रीले कालीगण्डकीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा प्रतिनिधि सभाका सदस्य देबेन्द्र पौडेलले कालीगण्डकीसहित धौलागिरीको आफ्नै सभ्यता र संस्कृति रहेकाले त्यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।
धौलागिरी समाज नेपालका अध्यक्ष मुकुन्द शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभामा विश्व हिन्दु महासंघका अध्यक्ष डाक्टर रामचन्द्र अधिकारी, पूर्व सांसद तथा कांग्रेस पर्वतका नेता ऋषिकेश तिवारी, पूर्व सांसद एवंं नेकपा बागलुङकी इन्चार्ज बलावती शर्मा, नेपाली कांग्रेस पर्वतका नेता राजेन्द्र तिवारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन धौलागिरी समाज नेपालका महासचिव गोविन्दप्रसाद शर्मा, स्वागत वरिष्ठ उपाध्यक्ष भक्तराज भुषाल र धन्यवाद मन्तव्य दिननाथ गौतमले गरेका थिए । साधारण सभाले महासचिव शर्माले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आगामि कार्यक्रम, कोषाध्यक्ष एकनारायण उपाध्यायले पेश गरेको आर्थिक प्रतिवेदन पनि पारित गरेको छ । धौलागिरी समाजले सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आएको छ ।






