पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल रामकृष्णले केन्द सरकारले जनतालाई न्याय र सुशासनको अनुभूति दिन नसकेको कारण नागरिकहरूले विद्रोह गर्ने अवस्था सिर्जना भएको दाबी गर्नुभएको छ । अध्यक्ष मल्लले जलजला गाउँपारिका वडा नं ४ पाल्सिङ खोलाखेतमा कामना आमा समूहद्वारा निर्माण गरिएको सामुदायिक भवन तथा दुनाटपरी मेसिनको उद्घाटन गर्दै उक्त कुरा वताउनु भएको हो । उहाँले पछिल्लो समय देशमा भएका केही घटनालाई विश्लेषण गर्ने हो भने पनि वर्तमान सरकारप्रति जनताहरुको भरोषा गुमेको प्रष्ट हुने देवी गर्नुभयो ।
अध्यक्ष मल्लले केन्द्र र प्रदेश सरकारले संविधान विपरित स्थानीय सरकारलाई निरन्तर हस्तक्षेप गरिरहेको आरोप लगाउनु भएको छ । उहाँले निर्वाचनपूर्व जनतालाई भने अनुसार गाउँ गाउँमा सिंहदरवारको अनुभूति दिन नसकिएको वताउँदै यही अवस्था रहेमा आफूहरूमाथी गरेको हस्तक्षेपकारी भूमिका विरूद्धमा गाउँपालिका राष्ट्रिय महासंघमार्फत केन्द्र सरकारलाई मुद्दा हाल्ने चेतावनी समेत दिनुभएको छ ।
अध्यक्ष मल्लले आफूले गाउँपालिका भित्रका ९ वटै वडाबाट योजनाहरू संकलन गरि प्राथमिकताका आधारमा बजेट विनियोजन गरेको प्रष्ट पार्दै विकास निर्माणमा सबै जलजलाबासीलाई समान ढंगले हेरेको वताउनु भएको छ । उहाँले गाउँपालिकाबाट सम्भव हुने योजनाहरू गाउँपालिकाबाट र सम्भव नहुने योजनाहरूलाई प्रदेश र केन्द्र सरकारबाट पूर्ण गर्न पहल गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो । अध्यक्ष मल्लले कामना आमा समूहले विकास, आयआर्जनका साथै सामाजिक चेतनाको निम्ति गरेका कामहरूको प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा जलजला गाउँपालिकाका उपाध्यक्ष सीमा गर्बुजा पुनले समूहमा आबद्ध भएर उद्यमशीलतामा लाग्न महिलाहरूलाई सुझाव दिनुभएको थियो । उपाध्यक्ष गर्बुजाले स्वरोजगारमूलक कार्यक्रमहरुको लागि गाउँपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो । त्यसैगरि जलजला गाउँ पालिका वडा नं ४ का वडा अध्यक्ष भीष्म मल्लले गाउँपालिकाबाट पाल्सिङ खोलाखेतमा बाटो, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्यमा भएका विकास निर्माणका कामहरूको जानाकारी गराउनु भएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस जलजलाका संयोजक चन्द्रबहादुर खत्री, नेपाली काँग्रेस जलजला ४ का वडा सभापति मेघनाथ पौडेल, समाजसेवी नरबहादुर कार्की, वडा सदस्य हरिबहादुर कार्की, समाजसेवी क्या शिवबहादुर कार्की, धुलेपातल सामुदायिक बन उपभोक्ता समितिका सचिव टुङ्गनाथ पौडेल, समाजसेवी तप्तबहादुर कार्की, समाजसेवी भक्तबहादुर कार्की, कामना आमा समूहकी सदस्य गीता कार्की र सल्लाहकार खड्गराज कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कामना आमा समूहकी अध्यक्ष चिनु जिसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य समूहकी उपाध्यक् विनु कार्कीले गर्नु भएको थियोभने संचालन आमा समूहकी सचिव देवि कार्कीले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि यामबहादुर मल्ल रामकृष्ण लगायत भवन निर्माणका लागि सहयोग पुर्याउने विभिन्न सहयोगदाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो ।






