वारा/ सरकारको भूमिकामाथि नागरिक अविश्वास गरिरहेको बेला नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले भने विभिन्न प्रकोपबाट पीडित परिवारलाई राहत बाँड्न पीडितहरूको घरदैलोमा पुगेको छ । केही महिना अघि बारामा गएको हावाहुरीबाट ज्यान गुमाएका ३१ परिवारको घरदैलोमा पुगेर तरूण दलले नगद सहयोग गरेको हो । दलका अध्यक्ष जीतजंग बस्नेत र कोषाध्यक्ष विद्वान गुरूङले बारामा आयोजित एक कार्यक्रममा उक्त रकम मृतकका परिवारलाई हस्तान्त्रण गरेका हुन् ।
नेपाल तरुण दल बाराले संयोजन गरेको राहत हस्तान्त्रण कार्यक्रममा हावाहुरीबाट ज्यान गुमाएक ३१ वटै परिवारका सदस्यहरु सहभागी थिए । दलका अध्यक्ष बस्नेत र कोषाध्यक्ष विद्धान गुरुङले ३१ परिवारका सदस्यलाई जनही १० हजार रुपैया नगद राहत स्वरुप हस्तान्त्रण गरेका हुन् । ‘एक परिवार १० हजार भन्ने कार्यक्रम बनाएर हामीले हावाहुरीबाट ज्यान गुमाएका ३१ परिवारका सदस्यहरुलाई रकम हस्तान्त्रण गरका हौ’ अध्यक्ष बस्नतेले भन्नुभयो । अध्यक्ष बस्नेतले हिमाल,पहाड र तराई जहाँसुकैका नागरिकहरूलाई समस्या पर्दा पनि तरूण दलले आफ्नो सशक्त उपस्थिति जनाउने प्रतिबद्धता जनाउनु भयो ।
राहतका लागि तरुण दल केन्द्रीय समितिलाई तरुण दल अमेरिका शाखाले २ लाख रुपैया, तरुण दल दोलखा शाखाले १ लाख १६ हजार रुपैया र अर्घाखाँचीका सुरज पोखरेलले १० हजार रुपैया सहयोग गरेको नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङले जानकारी दिनुभयो । गुरूङले राज्यको उपस्थिति कमजोर भएको बेलामा तरूण दलको उपस्थितिले नेपाली काँग्रेसका प्रति जनताको आकर्षण बढेको दावी गर्नुभयो । ‘हामी सबै पीडित परिवारलाई सान्त्वना दिएर फर्कँदै छौ, यो अभियान अरू ठाउँमा पनि जारी रहन्छ ।’- कोषाध्यक्ष गुरुङले भन्नुभयो
।
नेपाल तरुण दलले प्राकृतिक विपत्तीमा विभिन्न किसिमका सहयोग गर्दै आएको छ । बारा र पर्सामा हावाहुरीले वितण्ड मच्चाएपछि तरुण दलले त्यही पुगेर पुर्नस्थापना र राहत वितरणमा पनि सहयोग गरेको थियो।






