भूक पुगेर काँग्रेस युवा नेता युवराज जोशीले भने – ‘पार्टीभित्रका अन्तरघातीहरुलाई गाउँमा निषेध गर्नुहोस’

पर्वत/नेपाली काँग्रेस पर्वतका युवा नेता तथा महाधिवेशन प्रतिनिधी युवराज जोशीले काँग्रेसभित्रका अन्तरघातीलाई नेतृत्वले निर्मम भएर कारवाही गर्नुपर्ने बताउनु भएको छ । नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगत मोदी गाउँपालिका–१ भुकताङलेमा भएको भेटभाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै जोशीले सुर्यमुखी काँग्रेसलाई सवैभन्दा पहिला कारबाही गर्नुपर्ने माग गर्नुभयो ।

निर्वाचनमा पार्टीकै नेतालाई हराएर आफूलाई बहादुर ठान्ने काङ्ग्रेसहरु पनि संगठनभित्र रहेको बताउँदै जोशीले स्थानीय तह र प्रतिनिधी सभाको निर्वाचनमा काँग्रेसले नै घात गरेका कारण पर्वतमा काँग्रेस कमजोर भएको दावी गर्नुभयो । पार्टीभित्र अनुशासनहीनता बढ्दै गएको टिप्पणी गदै नेता जोशीले रुखलाई छोडेर गुटको राजनीति गर्ने अवसरवादीहरुलाई सवैभन्दा पहिला कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

‘पर्वतमा अन्तरघात गर्ने नेता धेरै छन्, पार्टीको महासमिति सदस्य भएको व्यक्तिले समेत रुखमा भोट नहाल भन्दै हिँड्छन्’उहालेले भन्नुभयो । ‘चुनावमा सुर्यमा भोट हाल भन्दै हिँड्ने अहिले पार्टी कमजोर भयो भनेर बोल्दै हिँड्ने नेताहरुलाई गाउँमा आउन पनि रोक्नु पर्दछ ।’ नेता जोशीले जागरण अभियानले पार्टीलाई नयाँ दिशामा अगाडी बढाएको बताउँदै काँग्रेस सच्चिएर अगाडी बढेमा कम्युनिष्टहरु पतन हुने जिकिर गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य डाक्टर चुडामणि शर्माले काँग्रेसमा अनुशासन र एकताको खाँचो रहेको बताउनु भयो । शर्माले काँग्रेसभित्रको आन्तरिक एकताले मात्रै कम्युनिष्टहरुको पराजय निश्चित रहेको दावी गर्नुभयो । नेपाली काँग्रेस मोदी गाउँपालिका–१ का सभापति जगनवहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा मोदी गाउँपालिका–१ का कार्यवाहक वडाध्यक्ष भुलबहादुर पौडेल , दलप्सीवोट तमु समाज अध्यक्ष कुलविर पुन लगायतले मन्त्वय राख्नु भएको थियो । कार्यक्रमको संचालन नेपाल विद्यार्थी संघका जिल्ला शिशिर शर्मा पौडेलले गर्नुभएको थियो ।