पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले हिन्दु धर्म संसारकै उत्कृष्ट भएपनि सत्ता राजनीतिको चेपुवामा परेको वताउनु भएको छ । पर्वत सदरमुकाम कुश्मामा सञ्चालन भइरहेको गुप्तेश्वर बिराट कोटिहोम महयज्ञलाई बिहिबार सम्बोधन गर्दै जोशीले यस्तो वताउनु भएको हो । सत्ताका निम्ति सनातन धर्मलाई कमजोर बनाउने काम भएको उहाँको तर्क थियो ।
हिन्दु धर्ममाथि आक्रमण गरी कमजोर बनाउने काम भएको आफुलाई पनि महसुस भएको भन्दै काँग्रेसका प्रभावशाली नेता जोशीले सनातन धर्म मासेर भन्दा सनातन धर्मको रक्षा र संरक्षण गरेर शान्ति आएको दाबी गर्नुभयो । ‘धर्मलाई हामीले अफिम सम्झे हुम्ला, मठमन्दिर फ्याक्ने एउटा जमाना थियो । मुर्तिहरु पनि भत्काइए तर मुर्तिहरु भत्केर मुलुकमा शान्ति आउने रहेन्छ । साच्चिकै शान्ति त मठमन्दिर बनाएर त्यसको संरक्षण गरेर आउने रहेछ’ जोशीले भन्नुभयो –‘सनातन धर्ममाथि आक्रमण भइरहेको मैले पनि महसुस गरेको छु ।’
पैसासहित विभिन्न नाममा सरकार नै धर्मलाई कमजोर बनाउन उद्यत रहेको उहाँले आरोप लगाउनु भयो । सनातन धर्ममाथि कुनै कमजोरी नभएको भन्दै यसको संरक्षण र संम्बद्र्धनले नेपालको पहिचान र राष्ट्रियताको संरक्षण गर्ने दाबी पनि जोशीले गर्नुभयो । धर्मको माध्यमबाट महायज्ञहरु लगाएर थुप्रै शैक्षिक संस्थाको ब्यवस्थापन र सञ्चालनमा सघाउ पुगेको स्मरण गर्दै जोशीले सनातन धर्मको माध्यमबाट महान कामहरु भएको वताउनु भयो । हिन्दुधर्म संसारकै धर्ममध्ये महान रहेको भन्दै उहाँले हिनताबोध भन्दा गौरब गर्नुपर्नेमा जोड दिनुभयो । सबैलाई सम्मान गर्ने भएका कारण पनि हिन्दुधर्म महान भएको उहाँको भनाई थियो ।
बिश्वकै अग्लो शिव पार्वतीको मुर्तिले पर्वत जिल्लाको पहिचान, विकास र समृद्धिका लागि महत्वपूर्ण टेवा पु¥याउने वताउनु भयो । शिवपार्वतीको मुर्ति निर्माणको यो अभियानमा साथ र सहयोग पु¥याउन आग्रह गर्दै उहाँले यसले पर्वत जिल्लालाई संसारभर चिनाउने काम गर्ने पनि धारणा राख्नुभयो । उहाँले धर्म मान्छेको आस्था, विश्वास र सत्कर्म भएको र त्यसको माध्यमबाट धेरै राम्रा काम गर्न सकिने पनि वताउनु भयो ।
कुश्मामा भएको गुप्तेश्वर बिराट कोटीहोम महायज्ञ भएकै कारण काँग्रेसले जेठ १ गतेदेखि ११ गतेसम्म जागरण कार्यक्रम स्थगित गरेको पनि उहाँले जानकारी दिनुभयो । ‘कोटिहोम महायज्ञ सफल पारी त्यसपछिका उद्देश्य पुरा गर्न म सबैलाई सहयोग गर्न आग्रह गर्दछु’ उहाँले भन्नुभयो–‘नेपाली काँग्रेसले देशभर जागरण अभियान चलिरहदा पर्वतमा महायज्ञको अवधिभर जागरण अभियानलाई स्थगित गरेर सहयोग गरेका छौ ।’ कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)समेतको उपस्थिति रहेको थियो । महायज्ञको नवौदिनसम्म साढे तिनकरोड नगद संकलन भएको आयोजकले जानाकारी दिएको छ ।






