पर्वत/नेकपा सरकारले आफूहरुसँग चुनावपूर्व गरेका बाचाहरु पुरा नगरेको र नेकपाबाट निर्वाचित स्थानीय जनप्रतिनिधिले आफूहरुलाई सौतेली व्यवहार गरेको भन्दै जलजला ९, बनौका सत्तासिन पार्टीकै संगठित कार्यकर्ताहरु शनिवार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस जलजला गाउँकार्यसमितिको आयोजनामा शनिवार आयोजित पार्टीको जागरण अभियानका क्रममा नेकपा र जनमुक्ति पार्टी परित्याग गरि आधादर्जन कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा जनमुक्ति पार्टीको तर्फबाट धनबहादुर पुर्जा र तुलबहादुर पुन छन्भने नेकपाबाट गोपाल परियार, लुपबहादुर फकामी, लिलबहादुर फकामी र यामबहादुर फकामी रहेका छन् । उनीहरुलाई नेपाली काँग्रेसका युवा नेता तथा नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङ र नेपाली काँग्रेस पर्वतका जिल्ला कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले खादा र मालासहित काँग्रेसको सदस्यता प्रदान गर्नुभएको थियो ।
नवप्रवेशीहरुले नेकपा सरकारले चुनावअघि आफूहरुका बीचमा गरेका बाचाहरु पुरा नगरेको, सर्वहारावर्गको हितमा काम गर्ने भनेर सत्तामा पुगेपछि भोगविलास र भष्ट्राचारमा डुवेको आरोप लगाउँदै नाम मात्रको कम्युनिष्ट पार्टीबाट देश र जनताको हित नहुने देखेर आफूहरु काँग्रेसका प्रवेश गरेको जानाकारी गराएका थिए । उनीहरुले जलजला–९ बनौका वडाअध्यक्ष गौबहादुर पुनले आफूहरुलाई सौतेली व्यवहार गरेको र कतिपय सिफारिस समेत नदिएको आरोप लगाएका थिए ।






