पर्वत/कुश्मा नगरपालिका वडा नं -८, चुवामा निर्माण भएको राधाकृष्ण मन्दिरको आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा समुद्घाटन तथा प्राण प्रतिष्ठा गरिएको छ । मन्दिरको नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले उद्घाटन गर्नुभएको हो ।
मन्दिर उद्घाटन गर्दै सभापति जोशीले जवजव पृथ्वीमा धर्ममाथि अधर्म र अन्यायको दवदवा बढ्दै जान्छ तव भगवान नारायणले अवतार लिएर अधर्मको समुल अन्त्य गर्दै आएको र आजकै दिन श्रीकृष्णले द्वापरयुगमा नयाँ अवतारका रूपमा जन्म लिएको हुनाले श्रीकृष्ण जन्माष्टमीको रूपमा मनाउने प्रचलन रहेको वताउनु भयो । सभापति जोशीले आजको पावन दिनमा आफूले भगवानको मन्दिर उद्घाटन गर्न पाउँदा निकै गौरवान्वित भएको वताउनुभयो ।
कुश्मा नगरपालिका-८, चुवाका वडाध्यक्ष सुरेन्द्र केसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस वडा नं ८ चुवाका वडा सभापति लक्ष्मण पौडेल, मन्दिर निर्माण समितिका अध्यक्ष कृष्णबहादुर घर्ती , सचिव हरिनारायण गिरी लगायतले बोल्नुभएको थियो ।
मन्दिर निर्माणका लागि वडा कार्यालयको गत आर्थिक वर्षको ६ लाख रूपैयाँ र यो आर्थिक वर्षको ३ लाख गरि ९ लाख रूपैयाँ खर्च भएको वडाध्यक्ष केसीले जानकारी दिनुभयो । उहाँले चुवाको धार्मिक, सामाजिक, शैक्षिक र सांस्कृतिक विकासमा आफू निरन्तर लागिरहेको धारणा राख्नुभयो । उक्त कार्यक्रमको सञ्चालन चुवाका सामाजिक परिचालक अम्विका अधिकारीले गर्नुभएको थियो ।







