पर्वत/धौलागिरि प्रादेशिक अस्पतालले गर्भवतीलाई एक पटककालागि निशुल्क भिडियो एक्सरे सेवा दिन थालेको छ। आर्थिक अवस्था कमजोर भएका गर्भवतीलाई परीक्षणबाट बञ्चित हुन नदिन यो कार्यक्रम ल्याएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारीले बताए । ‘नियमित प्रोटोकल पूरा गर्न लगाउने र एकपटक भिडियो गरेर शिशुको अवस्था पत्ता लगाउने काममा नि:शुल्क सेवा दिन थालेका हौं,’ तिवारीले भने, ‘रकम अभावले नसकेकालाई यो उपयोगी बन्ने छ ।’
भिडियो एक्सरे सेवा भने अस्पताल आउने जोसुकै गर्भवतीकालागि एकपटक नि:शुल्क दिन लागिएको हो । अस्पतालले ५ लाख रुपैयाँको कोष राखेर नि:शुल्क सेवा दिन लागेको हो । त्यसबाहेक अस्पतालमा गर्भपरीक्षण गर्न आएकालाई नियमित आउने वातावरण बनाउने, सुत्केरी हुने समयमा बस्नेखाने अस्पतालभित्रै व्यवस्था गरिने उनले बताए । अस्पतालमा रहेको ‘आमा घरमा’ १० दिनसम्म बस्ने खाने व्यवस्थापन गरिएको छ । यो सुविधाबारे थाहा नपाएर कतिपयले डेरा खोज्ने गरेको बुझेपछि अस्पतालले प्रचार समेत गरेको छ । उक्त आमा घर व्यवस्थापनमा अस्पतालले ७ लाख बजेट बिनियोजन गरेको छ। त्यसबाहेक अस्पतालमा हाइड्रोसिलको उपचार समेत निशुल्क दिने भएको छ ।
विशेषज्ञ अस्पतालमा सबै सेवा शुल्कको आधारमा मात्र हुने भए पनि अस्पतालले आधा दर्जन सेवामा भने नि:शुल्क व्यवस्था गरेको हो । ‘हामीले जिल्लाका सबै स्थानीय तहमा पुगेर महिलाको पाठेघरको क्यान्सर परीक्षण निशुल्क सेवा दिएका छौं,’ तिवारीले भने, ‘सोही समयमा प्रसूति सम्बन्धी अन्य समस्याको पनि सेवा दिने लक्ष्य राखेका छौं ।’ हरेक महिना एकपटक स्थानीय तहमा पुगेर सहकार्य गर्ने र उपचार सेवा पनि दिने योजनामा अस्पतालले बजेट समेत व्यवस्था गरेको उनले बताए ।
त्यसबाहेक मृगौला पीडितलाई निशुल्क डायलायसिस सेवा समेत दिएको छ । यहाँ अहिले पनि ६३ जना नियमित बिरामीले डायलायसिस सेवा पाएका छन् । हिंसामा परेका महिलाको निशुल्क उपचार गर्ने ओसिएमसी कक्ष र सेवा पनि यहाँ संचालित छ । हरेक बर्ष यहाँ झण्डै १ सय पीडित महिलाको पनि नि:शुल्क उपचार गरिँदै आएको ओसिएमसी शाखाकी प्रमुख देवी भट्टराईले बताइन् ।झण्डै २ सय कुपोषित बालबालिकाको पनि निशुल्क उपचार र बढीमा ३ महिनासम्म पोषण पुनस्थापना केन्द्रमा राखेर उपचार पनि गराइन्छ । अस्पतालमा हाल १८ जना विशेषज्ञ चिकित्सकसहित ३० जना बढी डाक्टर कार्यरत छन् । जसका कारण जटिल प्रकारका अपरेसन समेत हुन थालेका छन् ।
विसं २०१५ सालमा डिस्पेन्सरीबाट सुरु भएको यो अस्पताल अहिले गण्डकी प्रदेश स्तरीय बनेको छ । दुई सय बेड संचालन गर्ने लक्ष्यमा रहेको अस्पतालमा अहिले १ स ४० बेडमा उपचार दिइएको छ । अस्पतालमा हाडजोर्नी, नाक कान घाँटी, स्त्री तथा प्रसूति सेवा, हेमोडायलायसिस, सुरक्षित गर्भपतन, आँखा उपचार केन्द्र, पाठेघरको क्यान्सरबिरुद्धको उपचार समेत गर्न थालिएको छ ।
पछिल्लो समय बाल उपचार केन्द्र, प्रसव पीडा बिनै प्रसूति गराउने इपियोएनेल्सीया सेवा पनि दिने गरिएको छ । भिडियो एक्सरे र ट्रमा उपचारको सेवा पनि संचालन भएपछि दुर्घटनाका बिरामी समेत रिफर गर्न नपर्ने भएको हो ।






