बजेट अभावका कारण सामुदायिक विद्यालयको भवन निर्माण अलपत्र

माघ,२७–पर्वत/बजेट अभावका कारण पर्वतको एक सामुदायिक विद्यालयको भवन निर्माण अलपत्र परेको छ । फलेवास नगरपालिका–४ मुडिकुवास्थित माटेदेवल व्यावसायिक तथा प्राविधिक माध्यमिक विद्यालयको भवन बजेट अभावका कारण विगत चार वर्षदेखि अलपत्र परेको हो ।

एक वर्ष्भित्रै सम्पन्न गर्नेगरी २०७१ मा निर्माण शुरु गरिएको सो विद्यालयको भवन अझैसम्म बन्न सकेको छैन । तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा निर्माण शुरु भएको दुई कोठे सो पक्की भवन अलपत्र रहँदा विद्यालयमा कक्षाको समस्या छ । आर्थिक वर्ष ०७१/७२ मा शान्ति तथा पुनःनिर्माण मन्त्रालयले एक वर्ष्भित्रै सक्नेगरी विद्यालयको पक्की भवन निर्माण गर्ने सम्झौता गरेको थियो । सम्झौताअनुरूप पहिलो किस्ता रकम पठाएर बाँकी भुक्तानी नदिएपछि निर्माण कार्य रोकिएको सरोकारवालाको भनाइ छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनेश्वर रेग्मीले शुरुमा रु ६ लाख ल्याउन पाएपनि त्यसपछि मन्त्रालय नै विघटन भएपछि भवन निर्माणको काम अपुरो भएको बताउनुभयो । विद्यालयको अरू स्रोत नभएकाले प्राप्त बजेटबाट हुने कामबाहेक अरू अगाडि बढाउन नसकेको उहाँले बताउनुभयो ।