कुश्मा नगरपालिकाद्वारा आज शोक विदा घोषणा

पर्वत/ कुश्मा नगरपालिका वडा नं. १४ का वडा सदस्य तथा नगरसभा सदस्य केशव प्रसाद पौडेलको सवारी दुर्घटनामा परी असामयिक निधन भएपछि कुश्मा नगरपालिकाले आज बुधवार शोक बिदा घोषणा गरेको छ।

नगरपालिकाद्वारा जारी शोक–विदा सम्बन्धी सूचनाअनुसार जेठ १८ गते कुश्मा–आर्थर सडकखण्ड हुँदै आर्थरतर्फ जाने क्रममा सोडे जोड्ने भिर क्षेत्रमा भएको जिप दुर्घटनामा परी वडा सदस्य पौडेलको निधन भएको हो। उनको निधनको खबरले सम्पूर्ण कुश्मा नगरपालिका परिवार स्तब्ध तथा मर्माहत भएको जनाइएको छ।

सूचनामा दिवंगत पौडेलले समाज र राष्ट्रप्रति पुर्‍याएको योगदानको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै शोकाकुल परिवारजन तथा आफन्तमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ।यसैबीच, नगरपालिकाले दिवंगत वडा सदस्यप्रति सम्मान व्यक्त गर्दै फागुन २० गते बुधबार कुश्मा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालयहरूमा (आकस्मिक सेवा बाहेक) शोक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेल द्वारा जारी सूचनामार्फत सम्बन्धित सबैलाई जानकारी गराइएको छ।