पर्वत /जिल्लाको मोदी गाउँपालिकाले सार्वजनिक जग्गा अतिक्रमण बनाइएका भौतिक संरचना ३५ दिनभित्र खाली गराउन निर्देशन जारी गरेको छ। गाउँपालिकाकी अध्यक्ष हीरादेवी शर्मा र प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीद्वारा जारी भएको सूचनामा गाउँपालिकाभित्र कोही कसैले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी घरटहरा बनाई बसोवास गरेको भए सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र गाउँ कार्यपालिकाको कार्यालय तथा सम्बन्धित वडा कार्यालयमा जानकारी दिन भनिएको छ।

साथै गाउँपालिकाले सुकुमवासी, अव्यवस्थित बसोवासीका रूपमा त्यस्ता सरकारी तथा सार्वजनिक ठाउँमा बसोवास गरिरहेका व्यक्तिहरूले आफूसँग भएका प्रमाण सहित सोही अवधिभित्र गाउँ कार्यपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा निवेदन दिन पनि आह्वान गरेको छ। तोकिएको मितिमा प्रमाण पेस गर्न नसक्ने तथा जग्गा समेत खाली नगरेको अवस्था भएमा प्रचलित ऐन नियमानुसारको प्रक्रिया अगाडि बढाइने चेतावनी दिइएको छ।
गृह मन्त्रालयले गत वैशाख १७ गते तथा जिल्ला प्रशासन कार्यालय पर्वतले गत वैशाख २१ को पठाएको पत्रका आधारमा गाउँपालिकाले अतिक्रमित जग्गा भएमा खाली गर्न निर्देशन दिएको हो।जिल्ला प्रशासन कार्यालयले गत वैशाख १६ मा सूचना जारी गरेर जिल्लाका सबै स्थानीय तहलाई विवरण उपलब्ध गराउन भनेको थियो।
जिल्ला सुरक्षा समिति पर्वतको गत वैशाख १५ गते बसेको बैठकको निर्णयानुसार स्थानीय तहभित्र रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा तथा त्यस्ता जग्गामा बनेका संरचनाको विवरण १० दिनभित्र उपलब्ध गराउन भनिएको थियो।स्थानीय तह स्वयंले नै अतिक्रमित जग्गामा निर्माण भएको भौतिक संरचना भत्काउनुपर्ने भएमा आवश्यक तयारी गरेर सुरक्षाको माग गर्न समेत जिल्ला प्रशासन कार्यालयले आह्वान गरेको थियो।






