पर्वत /यही चैत १९ गतेबाट सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पर्वत जिल्लाबाट नियमिततर्फ १ हजार ६८३ जना विद्यार्थी सहभागी हुँदै छन्। यो संख्या भने पछिल्लो चार वर्ष अगाडिको तुलनामा करिब २४ प्रतिशतले कम हो। शिक्षा विकास तथा समन्वय इकाई पर्वतका इकाई प्रमुख मतिलाल चपाईँका अनुसार वि.सं.२०७९ सालको परीक्षामा नियमिततर्फ २ हजार २०१ जना सहभागी भएका थिए। उनीहरूका लागि १९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो। त्यसपछिका वर्षहरूमा परीक्षार्थीको संख्या क्रमशः घट्दै गएको छ।
वि.सं. २०८० मा १७ वटा परीक्षा केन्द्रहरूबाट १ हजार ९८० जनाले परीक्षा दिएका थिए। जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले कमी आएको थियो। यस्तै वि.सं. २०८१ मा परीक्षा केन्द्रहरूलाई समायोजन गरेर ९ वटामा झारियो।
कम विद्यार्थी संख्या भएका ठाउँमा पनि केन्द्र राख्दा खर्च र जनशक्ति बढ्ने तथा परीक्षा व्यवस्थापनमा पनि चुनौती हुने भएपछि इकाई प्रमुख चपाईँले मितव्ययी रूपमा परीक्षा सञ्चालनको योजना ल्याए। यो वर्ष १ हजार ८०७ जना एसइई परीक्षामा सहभागी भए। यो संख्या अघिल्लो वर्ष २०८० को तुलनामा करिब ९ प्रतिशतले कम हो। यो वर्ष अघिल्लो वर्षको तुलनामा १२४ जना कम छन्। जुन अघिल्लो वर्षको भन्दा करिब ७ प्रतिशतले कमी आएको हो।
बसाइसराइ, कम जन्म, वैदेशिक बसाई लगायतका कारण गाउँहरू रित्तिँदै गएको अवस्थामा विद्यालयहरू पनि रित्तिँदै गइरहेका छन्। यही कारण परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या पनि हरेक वर्ष कम हुँदै गएको देखिएको छ। सदरमुकाम कुश्मा बजारमा रहेका विद्यालयबाट सहभागी हुने विद्यार्थीहरूको संख्या सन्तोषजनक रहेको भए पनि ग्रामीण क्षेत्रका विद्यालयहरूको अवस्था भने सोचनीय बनेको छ।
समन्वय इकाईले सार्वजनिक गरेको विवरण अनुसार १० भन्दा कम परीक्षार्थीहरू रहेका विद्यालयको संख्या १९ रहेको छ। यीमध्येका दुई विद्यालयबाट परीक्षामा सहभागी हुनेको संख्या शून्य रहेको छ। शालिजा मा.वि. लेस्पारबाट ८ जना, हिमालय मा.वि. देउरालीबाट ९ जना, नुवार सुवेदीथर मा.वि. पाङबाट ९ जना, कृष्णभवन मा.वि. धाइरिङबाट ९ जना, शालिजा मा.वि. शालिजाबाट ५ जना, माटेदेवल जनसहयोगी मा.वि. मुडिकुवाबाट ८ जना विद्यार्थी छन्।
यस्तै महेन्द्रोदय मा.वि. भोक्सिङबाट ४ जना, जनविकास मा.वि. पाखापानीबाट ९ जना, विश्वज्योति मा.वि. पाखापानीबाट ५ जना, बबालारानी मा.वि. बालाकोटबाट ९ जना, मदनआश्रित मा.वि. फलामखानीबाट ४ जना, जनसहयोगी मा.वि. शंकरपोखरीबाट ० (आंशिकमा १ जना), फलेवासको ध्रुव नमुना मा.वि.बाट ० (आंशिकमा ३ जना) उराम खोरपोखराको चन्द्र मा.वि.बाट ९ जना, सगरमाथा मा.वि.बाट ० (आंशिकमा २ जना), हुवासको क्यामुने भन्ज्याङ मा.वि.बाट ७ जना, सरौँखोलाको बिनु मा.वि.बाट ४ जना र शब्द चिन्तन इङ्लिस बोर्डिङ स्कुल हुवासबाट ६ जना रहेका छन्।
सबैभन्दा बढी विद्यार्थी सहभागी गराउनेमा जिल्लाकै सबैभन्दा बढी विद्यार्थी संख्या रहेको सदरमुकाम कुश्माको नारायण माध्यमिक विद्यालय रहेको छ। करिब १ हजार २ सय विद्यार्थी अध्ययनरत विद्यालयबाट १२५ जनाले एसइई परीक्षा दिने प्रधानाध्यापक प्रकाश रिजालले बताए।
यसैगरी ४० जनाभन्दा बढी विद्यार्थी सहभागी हुन लागेका नवजागृत मा.वि. तिलाहारबाट ६६ जना, थापाठाना मा.वि. थापाठानाबाट ४७ जना, जनसेवा संस्कृत मा.वि. पैयुँबाट ४५ जना, नमुना आवासीय मा.वि. कुश्माबाट ४५ जना, भवानी विद्यापीठ मा.वि. फलेवासबाट ४४ जना, जनकल्याण मा.वि. नाग्लीवाङबाट ४० जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन्।






