जथाभावी उत्खननका कारण बस्तीमा जोखिम बढेपछि स्थानीयवासीले गराए ध्यानाकर्षण

पर्वत/निर्माण व्यवसायीको जथाभावी उत्खननका कारण बस्ती नै बग्ने जोखिम बढेपछि कुश्मा नगरपालिका वडा नं.४ गजौटे क्षेत्रका स्थानीयवासीले सम्बन्धित निकायमा हारगुहार गरेका छन् । गजौटे सामुदायिक वन र आसपासका क्षेत्रमा सडक निर्माणका लागि गरिएको अव्यवस्थित उत्खननले बाढी तथा पहिरोको खतरा बढाएको भन्दै स्थानीयले नगरपालिका लगायत नियामक निकायसँग तत्काल हस्तक्षेपको माग गरेका हुन् । कुश्मा जिरो किमीदेखि गोदाम हुँदै खरेया जोड्ने सडक निर्माण गरिरहेको ठेकेदार कम्पनीले मापदण्ड विपरीत जमिन खनेर जोखिम निम्त्याएको स्थानीयको आरोप छ ।

उक्त सडक निर्माणको ठेक्का पाएको कालीका इन्फ्रास्ट्रक्चर, काठमाडौंले सामुदायिक वन क्षेत्रमै व्यापक उत्खनन गरी निर्माण सामग्री निकाल्दा बस्तीमाथिको भूभाग कमजोर बनेको स्थानीयले बताएका छन् । वर्षायाममा बाढी र पहिरोको जोखिम झन् बढ्ने भन्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय पर्वत, जिल्ला समन्वय समिति पर्वत र डिभिजन वन कार्यालय पर्वतमा संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

पूर्वाधार विकास कार्यालय पर्वतको करिब पाँच करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त सडक आयोजनाका लागि सामग्री संकलन गर्दा वन क्षेत्र जथाभावी खनिएको र त्यसले बस्ती जोखिममा परेको स्थानीयको भनाइ छ । करिब १५० घरधुरी प्रत्यक्ष रूपमा बाढी र पहिरोको चपेटामा पर्ने खतरा रहेको भन्दै उनीहरूले हस्ताक्षरसहित निवेदन पेश गरेका छन् ।

गजौटे क्षेत्रमा विगतका वर्षहरूदेखि नै हरेक वर्ष बाढी आउने समस्या रहेको र पछिल्लो उत्खननले जोखिम अझ बढाएको स्थानीयले बताएका छन् । स्थानीयले तत्काल उत्खनन रोक्न, मापदण्ड अनुसार काम गर्न र बस्ती सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।