पर्वत/नेकपा एमालेको ११ औं केन्द्रीय महाधिवेशनका लागि पर्वतमा भएको प्रतिनिधि छनोट प्रक्रियामा केही नेताहरूले असहमति जनाएका छन् । निर्वाचनमार्फत प्रतिष्पर्धा गर्न पाउने प्रक्रियालाई पाखा लगाएर सर्वसहमती गर्नेगरि समिति बनाइएपनि ओलिगुटमा फरक मत राख्ने नेताहरूलाई आउट गरेर आइतबार लिष्ट आउट गरिएपछि एमाले नेता कार्यकर्ताले विभिन्न माध्यमबाट असहमती प्रकट गरेका हुन् ।
पार्टी केन्द्रीय सदस्य पदम गिरीको संयोजकत्वमा गठित समितिले आसन्न महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट केन्द्रीय सदस्य लड्ने तयारी गरिरहेका पूर्व जिल्ला अध्यक्ष तथा पूर्व मन्त्री विकास लम्साललाई जिल्लाबाटै आउट गरेर प्रतिनिधि सार्वजनिक गरेपछि लम्साल निकटका धेरै नेताहरू आक्रोशित भएका हुन् ।
छनोट समितिले गण्डकी प्रदेशकै सहसचिव रहेकी मञ्जु अधिकारीलाई समेत प्रतिनिधि बनाएको छैन । त्यसो त प्रतिनिधि छनोटमा बिहादी गाउँपालिकाबाट कुनैपनि प्रतिनिधित्व नभएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको छ । गण्डकी प्रदेशका पर्यटन मन्त्री समेत रहेका मित्रलाल बस्याल र सासंद भक्त कुँवरसमेत प्रतिनिधिमा अटाउन सकेको देखिएन । प्रतिनिधि छनोट प्रक्रियामा निषेधको राजनीति गरिएको भन्दै सामाजिक सञ्जालमा एकथरी एमाले नेताहरूको आक्रोश शुरू भएको छ । नेकपा एमाले गण्डकी प्रदेश सदस्य अर्जुन पौडेल निर्जनले सामाजिक सञ्जालमा -‘पैतृक सम्पत्ति हो कमाउ खाउ, बेच जे गर मनलाग्दी गर ।’ भनेर लेखेका छनभने अर्का नेता शिब पौडेलले पनि सहमतीका नाममा धोका भएको भन्दै आक्रोस पोखेका छन् । उनी आफू प्रतिनिधिमा छनोट भएपनि पूर्व सहमति अनुसारको नाम समावेश नभएकोमा आपत्ति जनाएको बुझिएको छ । त्यसैगरि कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालले समेत असन्तुष्टी जनाएकी छिन् भने एमाले युवाहरू कृष्ण तिवारी र बाबुराम सुवेदी लगायतका युवाहरूले पनि आइतबार सार्वजनिक भएका प्रतिनिधिहरूको नाममा असन्तुष्टी जनाएका छन् ।
नेकपा एमाले पर्वतको निर्वाचन समितिको नाममा आइतबार सार्वजनिक भएको लिष्टमा खुल्लातर्फबाट अध्यक्ष गोबिन्द पहाडी, पदमपाणी शर्मा, राजु पौडेल, ईश्वरीप्रसाद भुसाल, देवेन्द्रराज पाण्डे र शिव पौडेल रहेका छनभने । महिलातर्फ हिरादेवी शर्मा, कमला पन्त सुवेदी, हेमकुमारी अधिकारी र यमकुमारी राना चयन भएका छन् ।
त्यसैगरि दलितबाट बिष्णुराम विक, निर्मल नेपाली र शर्मिला नेपाली रहेका छन् । समितिले युवातर्फबाट बिमल लामिछानेलाई प्रतिनिधि पठाउने निर्णय गरेको छ । एमाले पर्वतले मंसिर १० गतेबाट प्रतिनिधि छनोट प्रक्रिया शुरू गरेको थियो । एमाले पर्वतकै एक नेताले दिएको जानकारी अनुसार पर्वतबाट छनोट भएका १४ जना महाधिवेशन प्रतिनिधिहरू सबै केपी ओली पक्षमा खुलेर मतदान गर्ने शर्तसहित छनोट भएको बुझिएको छ । सर्वसहमतीका लागि गठन गरिएको उक्त प्रतिनिधि छनोट समितिमा संयोजक केन्द्रीय सदस्य पदम गिरीसहित अन्य केन्द्रीय सदस्यहरू कल्पना चापागाई र मनोहर वि पौडेल पनि थिए ।






