कृषि ज्ञान केन्द्रमार्फत किसान महासंघले माग गर्यो किसानहरूलाई राहत

पर्वत/गत कात्तिक ११ देखि १४ गतेसम्म भएको बेमौसमी वर्षा र हावाहुरीले क्षति गरेपछि पर्वतका कृषकहरूले केही राहतको माग गरेका छन् । भित्राउने अवस्थामा पुगिसकेको, कतै काटेर खेतमा सुकाएको तथा कहीँ काट्ने तयारी अवस्थामा रहेको धान बालीमा क्षति भएपछि नेपाल किसान महासङ्घमा आबद्ध कृषकहरूले कृषि ज्ञान केन्द्र पर्वतमार्फत सकेसम्मको राहत उपलब्ध गराउन माग गरेका हुन् ।

काटेर सुकाएका धानका निहीनमा चार दिनसम्मको वर्षाले धान नै खेतमा कुहिएको, चौपायाका लागि प्रयोग हुने पराल पनि पानीमा डुबेर कुहिएको, पूर्ण रूपमा पाकेको धानका बालामा वर्षाले हान्दा धान खेतमा नै झरेको तथा काट्ने तयारीमा रहेको ठाडो धान हावाले गरामा नै ढलाउँदा कुहिएको तथा कतिपय पाक्न नै नसक्ने भएको कृषकहरूले बताएका छन् ।

कृषि ज्ञान केन्द्रमा पुगेका किसान महासङ्घ पर्वतका अध्यक्ष रघुनाथ गौडेलले वर्षभरिका लागि खाने प्रमुख बालीमा नै नोक्सान पुगेपछि अधिकांश किसानको मनोबल खस्किएको, ग्रामीण क्षेत्रका निर्वाहमुखी किसानहरूमा बाली बिमाका बारेमा ज्ञान प्रसार नहुँदा बालीको सुरक्षा हुन नसकेको लगायतका समस्या रहेको बताए ।

जिल्लामा बाली बिमा गरेका कृषकहरूको सङ्ख्या निकै कम रहेको तर बेमौसमी वर्षाले क्षति बेहोर्नुपरेका कृषकहरूको सङ्ख्या धेरै भएकोले पनि राज्यका तर्फबाट कृषकहरूलाई प्रोत्साहन गर्नका लागि राहत उपलब्ध गराइनुपर्ने उनीहरूको माग छ। कतिपय कृषकहरूको अर्काको खेत अधियाँ तथा ठेकमा कमाएर गुजारा गर्ने गरेकाले उनीहरू झनै मारमा परेको कृषकहरू बताउँछन् ।

‘अर्कोको खेत कमाएर गुजारा गर्ने किसानलाई त झन् दैवी विपत्तिले आघात पुगेको छ। यसको सम्बोधन राज्यले गर्न सकेन भने आउँदा बर्सहरूमा जग्गा बाँझो रहने दर झनै बढ्ने जोखिम छ’, जिल्ला समन्वय समिति सदस्य तथा कृषक निर्मला कुमारी शर्माले भनिन, ‘कृषकहरूको अवस्था निकै दयनीय बनेको छ। खेतमा गरामा नै भिजेको र झरेको धान त्यहीँ टुसाउन थालेको छ। पराल नै कुहिएपछि चौपाया कसरी पाल्ने? चौपाया नै पाल्न नसक्ने अवस्थामा अनि खेती कसरी हुन्छ ?’

कृषि ज्ञान केन्द्र पर्वतका निमित्त कार्यालय प्रमुख प्रेम प्रसाद आचार्यलाई बुझाएको ज्ञापन पत्रमा कृषि ज्ञान केन्द्रले पीडित कृषकहरूको तथ्याङ्क उठाएर क्षतिको प्रारम्भिक विवरण तयार पारी सम्बन्धित निकायहरूमा पठाउन अनुरोध गरिएको छ। नेपाल किसान महासङ्घ पर्वतका सचिव हेम प्रसाद अधिकारी, अगुवा कृषक सिता पौडेल सहित जिल्लाका सात वटै स्थानीय तहमा रहेका नेपाल किसान महासङ्घका पालिका स्तरीय समितिका पदाधिकारीहहरुले उक्त ज्ञापन पत्र बुझाएका हुन् ।

पर्वतका सात ओटा स्थानीय तहहरूमध्ये पैयुँ गाउँपालिका र बिहादी गाउँपालिका भने क्षतिको विवरण सङ्कलन गरेर कृषकहरूलाई केही न केही राहत उपलब्ध गराउने घोषणा गरिसकेका छन् । पालिकाहरूले सूचना जारी गर्दै पालिकाभित्रको धान बालीको क्षतिको यथार्थ विवरण सङ्कलन गरी कृषकहरूलाई राहत उपलब्ध गराइने उल्लेख छ ।

पैयुँ गाउँपालिकाले वर्षा रोकिए लगत्तै क्षतिको यथार्थ विवरण सङ्कलन गर्नका लागि प्रक्रिया अघि बढाएको छ । क्षतिको मूल्याङ्कनको आधारमा राहत उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष राज मल्ल ठकुरीले बताए। कृषकले फेरी धान वा अन्य अन्न खरिद गरेर खान सकुन् भन्ने पालिकाको उद्देश्य छ। यस्तै बिहादी गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले कृषि विकास शाखाका शाखा प्रमुखको संयोजकत्वमा, सम्बन्धित वडा कार्यालय, जनप्रतिनिधि तथा प्रहरी चौकीहरूको सहभागितामा क्षतिको अनुगमन गरिरहेको छ ।