पर्वत/मुस्ताङबाट यसबर्ष ३६ करोडभन्दा बढीको भेडा च्याङ्ग्राको व्यापार भएको छ । दशैंका लागि मुस्ताङको लो–घेकर, लोमान्थाङ, वारागुङ मुक्तिक्षेत्रसहितका किसानले पालेका र कर्णाली प्रदेशको डोल्पा, मुगु र हुम्ला जिल्लाबाट ल्याइएको भेडाच्याङ्ग्राबाट ३६ करोड ५० लाखको कारोबार भएको छ ।
यसवर्ष मुस्ताङका कृषकले ६ सय ७५ भेडा, ७ हजार २ सय १ च्याङ्ग्रा बिक्री गरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख डा. लालमणि अर्यालले जानकारी दिए । त्यस्तै मुगुबाट ५ सय, जुम्लाबाट ७ सय ७५, तिब्वतहुँदै कोरला नाकाबाट ५ सय ५० र डोल्पाबाट ५ हजार ९ सय भेडा–च्याङ्ग्रा मुस्ताङ हुँदै बाहिरिएको छ ।
डा. अर्यालले भने, ‘दशैंमा बिक्री गर्ने भेडाच्याङ्ग्रा निकासी भइसकेको छ, मुस्ताङका किसानले गोठबाट र आफैंले बेचेर मनग्य आम्दानी गर्नुभएको छ, फाटफुट बाहेक सबै थासाङको सिमाना घाँसाबाट बाहिरिएका छनु ।’
मुस्ताङका किसानले रोज्जा, रोमा तथा सानाठूला भेडा च्याङ्ग्राको उमेर र तौलअनुसार प्रतिगोटा २८ हजारदेखि ४० हजारका दरले बिक्री गरेका छन् । सरदर मूल्यअनुसार ३६ करोडभन्दा बढीको भेडा च्याङ्ग्राको बिक्री भएको केन्द्रका प्रमुख डा. अर्यालले जानकारी दिए ।
गत वर्षको तुलनामा करिब १ करोडभन्दा बढीको भेडा–च्याङ्ग्रा बिक्री भएको छ । मुस्ताङका भेडाच्याङ्ग्रा पालक कृषक तथा छिमेकी जिल्ला म्याग्दी, कास्की, काठमाडौंसहित देशको विभिन्न जिल्लाबाट गएका ब्यापारीले बजारमा लगेर बिक्री गरेका छन् ।






