मंसीर २४, पर्वत/भूकम्पपछिको पुननिर्माण अन्तर्गत पर्वतमा लाभग्राहीलाई तेस्रो किस्ताको रकम बितरण गर्न थालिएको छ । नयाँ घरनिर्माण गरिसकेका लाभग्राहीलाई तेस्रो किस्ता बितरणको काम भैरहेको राष्ट्रिय पुननिर्माण आयोजना कार्यान्वयन ईकाइ पर्वतले जनाएको छ । तर, तेस्रो किस्ता लिनेको संख्या न्यून छ । लाभग्राहीले घर निर्माण पुरा गरेपछि मात्रै तेस्रो किस्ताको रकम पाउँछन् ।
जिल्लाका विभिन्न स्थानीय तहबाट घर सम्पन्न गरी तेस्रो किस्ता माग गर्ने लाभग्राहीको निवेदन आउन थालेपछि अन्तिम किस्ता दिइएको हो । अहिलेसम्म पर्वतमा १६ जनाले मात्रै तेस्रो किस्ताबापतको रकम लगेका छन् । सबैलाई अन्तिम किस्ता भुक्तानी गर्न थालिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइका प्रमुख जगदीश शर्माले जानकारी दिनुभयो ।
भूकम्पबाट पूर्ण क्षति पुगेका जिल्लाका पाँच हजार २६९ घरमध्ये हालसम्म एक हजार ५८० घर मात्र निर्माण भएका छन् । घर निर्माणाधिन अवस्थामा रहेका र निर्माण गरिसकेका एक हजार पाँच सय ८० लाभग्राहीले अहिलेसम्म दोस्रो किस्ताको रकम समेत बुझिसकेका छन् ।






