फलेवास नगरपालिकाको कार्यालयमा नगरप्रमुख तिवारीको पुत्ला दहन

पर्वत/फलेवास नगरपालिका ११ पाङ्राङका युवाहरूले फलेवास नगरपालिका मेयर गंगाधर तिवारीको पुत्ला दहन गरेका छन् । फलेवास नगरपालिका–११ पाङराङका युवाहरुले नगरपालिकाको कार्यालयमा पुगेर नारा जुलुस गर्नुका साथै मेयर तिवारीको पुत्ला दहन गरेका हुन् ।

नगरपालिकाले आयोजना गरेको तेस्रो मेयर कपमा संचालित भलिबल प्रतियोतिाको क्रममा पाङराङका खेलाडि माथी सांघातिक आक्रमण गरी घाईते बनाएको घटनाप्रति नगरप्रमुखले वेवास्ता गर्नुका साथै गैरजिम्मेवारपन देखाएका कारण मेयर तिवारीको पुत्ला दहन गर्नुपरेकोे पाङराङका युवा अनुज कुवँरले बताए ।

मेयर तिवारीले घटना घटेको ४८ घण्टासम्म दोषिलाई कारबाही नहुनु, सुरक्षा संयन्त्र लगायत सम्पूर्र्ण प्रशासन मुकदर्शक बन्नु, खेलाडिहरुलाई सामान्य सुरक्षाको प्रत्याभूति दिलाउन नसक्नु, घटनाको जिम्मेवारी नलिनु जस्ता हर्कत देखिएका कारण बाध्य भएर मेयर पुत्ला दहन गर्नुपरेको कुवँरको भनाई छ ।

उनले सौहार्दपूर्ण रुपमा संचालन गर्नुपर्ने खेलमा एकपक्षिय रुपमा जानकारी नगराई प्रतियोगितामा अयोग्य घोषणा गर्नु जस्ता कार्यले मेयरको पुत्ला दहन गर्नुपरेको बताए । उनीहरुले नगर प्रमुख तिवारी सहित खानीगाउँका वडा अध्यक्ष नारायण प्रसाद लामिछाने बिरुद्ध पनि नारा जुलुस गरेका थिए ।

पुत्ला दहन सहित नारा जुलुस गरेपछि युवाहरुले नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले घटनाको जिम्मेवारी लिई कारबाहीको प्रक्रिया अगाडि बढाउनु पर्ने, पिडितलाई क्षतिपूर्ति उपलव्ध गराउनु पर्ने, विवादित खेल पुन संचालन गर्नुपर्ने, वडा भन्दा बाहिरका खेलाडि खेलाएको भन्दै वडा नम्वर १० कुर्घाका वडा अध्यक्ष र सचिवलाई कार्बाही हुनुपर्ने र खेलाडि माथि हमला र कुटपिट गर्ने व्यक्तिलाई कानुन बमोजिम कार्बाही गर्नुपर्ने माग गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा पनि ठाडो निवेदन दिएका छन् । चैत्र २४ गतेबाट शुरु भएको मेयर कप २६ गते सम्पन्न भएको छ ।