पर्वत/समाजमा कायमै रहेको जातिय विभेद तथा छुवाछुत न्यूनिकरण गर्ने उद्धेश्यले पर्वतमा अन्तरजातीय बिवाहा गर्ने जोडिलाई सम्मान गरिने भएको छ । पर्वतको जलजला गाउँपालिकाले विं.सं. २०७४ सालपछि हालसम्म अन्तरजातीय विवाह गरेका पालिका भित्रका दम्पतीहरुलाई नगद सहित सम्मान गर्ने भएको हो ।
अहिलेपनि दलित र गैह्रदलित समुदायबीच ठुलो विभेद रहेकोले यसलाई पुर्ण रुपमा हटाउनका लागि अन्तरजातीय दम्पतीलाई प्रोत्साहन स्वरुप नगद सहित सम्मान गर्न लागिएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदीप पौडेलले जानकारी दिनुभयो । समाजमा रहेको जातीय विभेद, हिंसा, कुरिती, कुसंस्कारको अन्त्य गरी समुन्नत समावेशी एवम् छुवाछुत मुक्त जलजला गाउँपालिका बनाउने उद्धेश्यले यस्तो कार्यक्रम लागु गरिएको उहाँको भनाई छ । विशेषगरी दलित र गैरदलित समुदायको बीचमा भएको अन्तरजातीय जोडिलाई मात्र प्रोत्साहन गरिने पौडेलले बताउनुभयो । जिल्लाका अन्य पालिकामा भन्दा जलजलामा अन्तरजातीय बिवाहीत जोडिको संख्या बढि रहेको छ । मगर र दलित समुदायको बाहुल्यता रहेको जलजलाका चारवटा वडामा अधिकांस मगर समुदाय रहेको छ । यस्तो खालको प्रोत्साहन मुलक कार्यक्रमले आगामी दिनमा अझै बढि अन्तरजातीय विबाहको लहर बढ्ने र यसले समाजमा देखिएको जातीय छुवाछुत र विभेद अन्त्य गर्ने जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताउनुभयो ।

गाउँपालिकाले बिहीवार सुचना जारी गर्दै वि.स २०७४ सालपछि बिवाह गरेका दम्पतीहरुले पन्ध्र दिनभित्र पालिकामा निवेदन दिन वा सम्पर्कमा आउन आग्रह गरेको छ । अन्तरजातीय विवाह गरेका दम्पतीले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि दुवै जनाको, विबाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराई गरी जलजला गाउँपालिका भित्र आएको भए सोको प्रमाणपत्र तथा बिवाहको पहिचान खुल्ने अन्य तस्विर वा कागजात पालिकामा बुझाउन आग्रह गरेको छ । पालिकामा दर्ता हुने आवेदनको आधारमा प्रोत्साहन रकमको व्यवस्था गरिने अध्यक्ष आचार्यले बताउनुभयो । ‘उनिहरुलाई हौसला स्वरुप हामी नगद समेत सहयोग गर्छौ’ अध्यक्ष आचार्यले भन्नुभयो,–के कति संख्यामा दम्पतीहरु आउनुहुन्छ सोहि आधारमा रकम निर्धारण गर्छौ ।’ गाउँपालिकाका आर्थिक वर्ष २०८१÷८२ को लक्षित वर्ग तर्फको स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत जिल्लामै पहिलोपटक अन्तरजातीय बिवाहित दम्पतीलाई सम्मान गर्न लागिएको अध्यक्ष आचार्यले बताउनुभयो । उक्त कार्यक्रमका लागि यस वर्ष रु. पाँच लाख रुपैया बिनीयोजन भएको पालिकाले जनाएको छ ।






