पर्वत/भूमि समस्या समाधान आयोग पर्वतका अध्यक्ष देवेन्द्रराज पाण्डेले आइतवारदेखि पदभार ग्रहण गर्नुभएको छ । सदरमुकाम कुश्माबजार स्थित बडागाउँमा स्थापना गरिएको जिल्ला समितिको कार्यालयमा उहाँले पदस्थापन गर्नुभएको हो । पदस्थापन गर्दै अध्यक्ष पाण्डेले पर्वतका भूमिहिन, सुकुम्वासी र दलित भूमिहिनलाई समयमै जग्गाको लालपुर्जा दिलाउनका लागि निरन्तर सक्रिय भएर लाग्ने बताउनुभयो ।
.पदभार ग्रहण गर्नुमात्र ठु्लो कुरा नभई राज्यको उद्धेश्यअनुरुप समयमै काम गर्नका लागि सवै निकायसँग आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो । आफु यस अघिको कार्यालयमा अध्यक्ष हुँदा पनि थुपै्र कामहरु शुरुवात गरेको बताउँदै यो कार्यकालमा जिल्लाका सवै भूमिहिनलाई भूमि दिलाउन र भूमिसम्वन्धि समस्याको समाधान गर्ने उहाँको भनाई छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले लामो समयदेखि थाती रहेको भूमिसम्वन्धि समस्या समाधानका लागि सरकारले काम अघि बढाएको भन्दै जिल्ला समितिले समेत सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । उहाँले जिल्लाका थुप्रै नागरिक अझैपनि अव्यवस्थित रुपमा बसोवास गर्न बाध्य भएको भन्दै हरेक नागरिकको भूमि सम्वन्धि अधिकारलाई प्रत्यायोजित गर्न समितिले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, जिल्ला समन्व्य अधिकारी किरण पौडेल, विभिन्न कार्यालयका प्रमुख र सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले वधाई ज्ञापन गर्नुभएको थियो ।
भूमि समस्या समाधान आयोग पर्वतका अन्य सदस्यहरु भने नियुक्त हुने क्रममै रहेका छन् ।