पर्वत/जिल्लामा १५ सय बढी व्यक्तिहरू यसैबर्ष डेंगुबाट प्रभावित भएका छन् । अघिल्लो मौसमको तुलनामा यो वर्षको मौसममा पर्वतमा डेंगु संक्रमणको दर निकै तीव्र भएको छ । गतवर्षमा कुल २२५ जनामा डेंगु संक्रमणको पुष्टि भएकोमा यस वर्षको कार्तिक ८ गतेसम्म कुल एक हजार ४१४ जनामा संक्रमण भइसकेको स्वास्थ्य कार्यालय पर्वतले बताएको छ। कार्यालय प्रमुख प्रवीण शर्माका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ५२८ प्रतिशत बढी व्यक्तिमा सङ्क्रमण भइसकेको छ।
अहिले पनि जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा आउने विरामीमा डेंगु संक्रममणको पुष्टि हुने क्रम नरोकिएकाले जाडो मौसम सुरु हुनै लाग्दा पनि विरामीको सङ्ख्या बढिरहेको कार्यालय प्रमुख शर्माले बताए। उनका अनुसार संक्रमितमध्ये सबैभन्दा बढी कुश्मा नगरपालिकामा एक हजार १७१ जनामा सङ्क्रमण भएको छ। जुन कुल संक्रमितको ८२.८१ प्रतिशत हो।
यस्तै फलेवास नगरपालिकाका ७५ जना, मोदी गाउँपालिकाका ४८ जना, जलजला गाउँपालिकाका २३ जना, पैयुँ गाउँपालिकाका ७ जना, बिहादी गाउँपालिकाका ७ जना, महाशिला गाउँपालिकाका ४ जना र अन्य जिल्लाबाट आएका ७९ जनामा संक्रमणको पुष्टि भएको छ।
घर आसपासमा रहेको फोहर, झाडी, नहल्लिने गरेर जमेको पानीलगायतका कारण लामखुट्टेले फुल पारेर बच्चा सङ्ख्या वृद्धि हुने लामखुट्टेको टोकाइ बढ्दा डेंगुको जोखिम पनि बढ्दै जाने भएकोले सचेत हुन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ।
लामखुट्टेको टोकाइबाट बच्न आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडा लामखुट्टे नछिर्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप बाल्ने र मलम लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, झुल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने गरी लुगा लगाउनुपर्ने चिकित्सकहरूको सुझाव छ।