सामाजिक परिवर्तनका अगुवा पम्फे दमाईलाई श्रद्धाञ्जली दिंदा काँग्रेस नेता जोशीका आँखा रसाए

कार्तिक १५ पर्वत /२००७ सालको प्रजातान्त्रिक आन्दोलनका अगुवा एवं सामाजिक परिवर्तनका अभियन्ता कुनपा ४ निवासी पम्फे दमाईको ८९ बर्षको उमेरमा गएराति निधन भएको छ । दलित आन्दोलनका अगुवा भएर नेपाली काँग्रेसको सांगठानिक जीवनमा महत्वपूर्ण भूमिका खेलेका दमाईको निधनप्रति नेपाली काँग्रेसले गहिरो दुख व्यक्त गरेको छ । दमाईको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिँदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले पार्टीको चारतारे झण्डा ओढाउनु भएको थियो । आफ्ना पिता अमृतप्रसाद जोशीका राजनीतिक दौतरी समेत रहेका पम्फे दमाईलाई श्रद्धाञ्जली दिनेक्रममा नेता जोशीका आँखा रसाएका देखिन्थे । नेता जोशीले फम्फे दमाई पार्टीको सिद्धान्त र निष्ठाप्रति अविचलित भएर आजीवन सहयोग गरेको उल्लेख गर्दै उहाँको निधनबाट काँग्रेस पार्टीलाई अपुरणीय क्षति पुगेको वताउनु भयो ।

केन्द्रीय सदस्य जोशीसहित काँग्रेसका विभिन्न नेताहरू विहिवार विहान उहाँकै निवासमा पुगेर अन्तिम श्रद्घाञ्जली अर्पण गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पार्टी सचिव युक्तप्रसाद श्रेष्ठ, नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्ण, नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङ, कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने, नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेशका संयोजक शिव शर्मा अधिकारी, कुश्मा नगरपालिका वडा नं ४ का वडाअध्यक्ष मिना कर्माचार्य, नेपाल ट्रेड युनियन काँग्रेस पर्वतका पूर्व अध्यक्ष गुरूप्रसाद उपाध्याय, वडा नं ४ का वडा सदस्य विष्णु शर्मा, नेपाली काँग्रेस शिवालयका पूर्व सचिव माधव पौडेल र नेवि संघ गुप्तेश्वर बहुमुखी क्याम्पसका इकाई अध्यक्ष शिशिर पौडेल लगायतले पम्फे दमाईको पार्थिव शरीरमा अन्तिम श्रद्घाञ्जली अर्पण गरेका थिए ।
१९८६ साल माघ ६ गते कुश्मामा जन्मनुभएका पम्फे दमाईका दुई श्रीमती, तीन छोरा र दश छोरीहरू छन् ।