धार्मिक पर्यटनको विकास गर्न पर्वतमा धार्मिक महोत्सव आयोजना गरिँदै

कात्तिक १४ पर्वत/ धार्मिक पर्यटनको विकासका लागि पर्वतमा धार्मिक महोत्सव आयोजना गरिने भएको छ । गुप्तेश्वर गुफालाई आधार बनाएर यहाँ धार्मिक महोत्सव गर्न लागिएको हो । महोत्सव क्षणिक नभई वर्षेनी आयोजना गर्न लागिएको हो । पर्वत जिल्लाका सबै संघसंस्थाहरुको समन्वयमा हुने महोत्सव आगामी नयाँ बर्ष देखि प्रारम्भ हुन लागेको हो । वर्षको पहिलो महिना बैशाख १ गते देखि ११ गते सम्म हरेक नयाँ बर्षमा महोत्सव आयोजना गर्ने गरि बृहत तयारी भएको छ ।

उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माको संयोजकत्वमा अल्पकालिन समयका लागि एक तदर्थ समिति निर्माण गरि महोत्सवको अवधारणा तयार भएको छ । मंगलवार पत्रकार सम्मेलन गर्दै धार्मिक महोत्सवको बारेमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पर्वत जिल्लामा जन्मिएर विश्वभर चर्चित पंडित ईश्वर कृष्ण भूर्तेलले धार्मिक महोत्सवको संकल्प गर्नुभएको हो । उहाँको संकल्प अनुसार पर्वतवासीहरुले महोत्सवलाई सहयोग गर्न लागेका हुन् । आउँदो २०७६ साल बैशाख १ देखि ११ गते सम्म पहिलो महोत्सव आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । महोत्सवको सबै तयारी गर्नका लागि आगामी कार्तिक १७ गते कुश्मामा वृहत भेलाको आयोजना गरिएको छ ।
पर्वत जिल्लालाई धार्मिक पर्यटनको एकमात्र गन्तव्य बनाउने हेतुले महोत्सव गर्ने सोच बनाइएको उद्योग वाणिजय संघका अयक्ष केदारनाथ शर्माले बताउनुभयो ।

विश्वभरका हिन्दु धर्मावलम्बीलाई यो महोत्सवले पर्वतमा ल्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ । गुप्तेश्वर गुफालाई आधार बनाएर यज्ञ सञ्चालन गरिने भएपनि जिल्लाभरका सबै धार्मिक स्थललार्इ समान महत्व दिएर प्रचारमा ल्याईने भएको छ । यो महोत्सवले हिन्दु धर्ममा आएको विचलनलाई सहि दिशामा फर्काउन मद्धत गर्ने अपेक्षा लिइएको विश्व हिन्दु महासंघ पर्वतका अध्यक्ष लोकनाथ आचार्यले बताउनुभयो ।