पर्वत/भू तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वतले आर्थिक वर्षकव २०८०/८१ मा सम्पादन गरेका योजनाहरुको प्रगति समीक्षा गर्नुका साथै आगामी आर्थिक वर्षमा गर्ने कार्यक्रम तथा आयोजनाहरूको बजेट सार्वजनिक गरेको छ । पर्वत सहित बागलुङ, म्याग्दी मुस्ताङ, र स्याङ्जालाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको कार्यालयले आ.व. २०८०/८१ मा भौतिक प्रगती ९५ प्रतिशत र समग्र वित्तीय प्रगती ८८.९४ प्रतिशत गर्न सफल भएको कार्यालय प्रमुख दिवाकर पौडेलले जानकारी दिनुभयो । ‘प्रदेशतर्फको वित्तीय प्रगति ९२.७७ प्रतिशत र संघीय सशर्तको ८२.४४ प्रतिशत प्रगति भएको छ ।’- कार्यालय प्रमुख पौडेलले भन्नुभयो । साथै पाँच जिल्लाको ठूलो भूगोल र धेरै कार्यक्षेत्रको जिम्मेवारी दिएर पनि सोही अनुसारको श्रोत र साधन उपलब्ध नगराएका कारण कार्यालयलाई काम गर्न निकै कठिनाइ भएको कार्यालय प्रमुख पौडेलले गुनासो गर्नुभएको थियो ।
कार्यालयले चालु बर्षमा एकसय ६६ वटा योजनाहरू सम्पन्न गरेको वताएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसी, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, पैयुँ गाउँपालिकाका उपाध्यक्ष यामकुमारी राना र जिल्ला समन्वय अधिकारी कमल पुन लगायतले कार्यालयबाट सम्पादन भएका विभिन्न कार्यक्रमहरूको विषयमा बोल्नुभएको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले प्रदेश र संघबाट वितरण भएका योजनाहरूपनि निकै कम बजेटका टुक्रे योजनाहरू संचालन भएको प्रति गुनासो गर्दै आगामी दिनमा योजना छनोट र वजेट विनियोजनमा सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
जिल्ला समन्वय समितिका उपप्रमुख सोमबहादुर जिसीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन कार्यालयका शाखा अधिकृत श्यामसुन्दर अधिकारीले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य बाली विकास अधिकृत सुस्मिता गौतमले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, सामुदायिक वन उपभोक्ता महासंघ र मिडियाकर्मीहरुको सहभागिता रहेको थियो ।