पर्वत/नेपालमा गरिबी रहेसम्म गरिबीविरूद्धको लडाईं जारी राख्ने संकल्प र अठोट सहित स्थापनाकालदेखिनै सामाजिक क्षेत्रमा रचनात्मक काम गर्दैआएको राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेष्डो नेपाल)को ३० औं स्थापना दिवस तथा संस्थाका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाईंको ५३ औं शुभजन्मोत्सवका अवसरमा संस्थाले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । वैशाख १६ गते आइतबारदेखि २२ गतेसम्म आयोजना हुने कार्यक्रमको विषयमा संस्थाले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ।
कार्यक्रम अन्तर्गत पहिलो दिन वैशाख १६ गते कुश्माको युनिभर्सल पाटी प्यालेसमा साप्तहिक कार्यक्रम शुभारम्भ समारोह रहने संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाईंले जानकारी दिनुभयो । कार्यक्रमको दोस्रो दिन बागलुङमा रहेको मानव सेवा आश्रममा खाद्यान्न सामाग्री तथा मानवीय राहात सहयोग गरिने बताइएको छ । तेस्रो दिन जिल्ला अस्पताल पर्वतका बिरामीलाई फलफुल वितरण गरिने र चौथोदिन विश्व मजदुर दिवस रहेकाले विश्व मजदुर दिवस विशेष कार्यक्रम रहने छ । पाँचौ दिन वैशाख २० गते प्रेस स्वतन्त्रता दिवसका अवसरमा सञ्चारकर्मी अन्तरक्रिया कार्यक्रम संचालन गरिने प्रसाइले जानकारी दिनुभयो । कार्यक्रमको छैठौं दिन शैक्षिक सहयोग, जेष्ठ नागरिक सम्मान तथा गुरु सम्मान कार्यक्रम रहेको छ भने सातौं दिन सामाजिक संस्था अन्तरक्रिया सम्मेलन तथा सप्ताहव्यापी कार्यक्रमको समापन गरिने संस्थाका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाईले जानकारी दिनुभयो ।
कार्यक्रम शुभारम्भ समारोहमा पर्वतका कलाकार,पत्रकार, राजनीतिज्ञ लगायत सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरिनुका साथै विभिन्न क्षेत्रमा आर्थिक सहयोग गरिने बताइएको छ । राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था,नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाइको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन रेडियो समृद्धका स्टेसन म्यानेजर उत्तम अधिकारीले गर्नुभएको थियो ।
२०५२ सालमा स्थापना भएको संस्थाले शिक्षा,स्वास्थ्य,संचार मानव अधिकार र सामाजिक सेवामूलक अभियान संचालन गर्दै आइरहेको छ ।
सामाजिक एवम् राजनैतिक व्यक्तित्व विश्वप्रकाश प्रसाइले आफ्नो जन्मोत्सवमा हरेकबर्ष यसरी नै सामाजिक कार्य एवम् सामाजिक अभियानहरु चलाउदै आइरहनुभएको छ ।








