पर्वत/कुश्मा नगरपालिकाको सहकारी शाखामा दैनिक समस्या लिएर आउनेहरु बढ्दैछन् । सहकारीको बेथितीबिरुद्ध उजुरीको चाङ लागेको छ । पीडितका उजुरीको कागजात हेर्दैमा कर्मचारीलाई फुर्सदै छैन । सहकारीहरुमा बित्तिय र नीतिगत समस्या बुझेपछि शाखाले पनि नगरभित्रका १ सय ५ सहकारीलाई आफ्नो यथार्थ विवरण ल्याउन निर्देशन दिएको छ । सहकारीका प्रबन्धकले ल्याएका विवरण अस्पष्ट भएपछि शाखा प्रमुख ऋषिराम शर्माले आवश्यक कागजात झिकाउने गरेका छन् । आएको कागजातमा पनि विवरणहरु स्पष्ट छैनन् ।
अध्यक्ष र पदाधिकारीले मनगढन्ते विवरण पठाएको भेटिएपछि कतिपयलाई सचेत गराएको छ । यथार्थ विवरण पुनः माग गरिएको शर्मा बताउँछन् । ‘कतिपयले घुमाउरो भाषा प्रयोग गरेर छलछाम गरेको भेटियो’ उनले भने, ‘स्पष्ट हुनेगरी थप कागजात र रेकर्ड ल्याउन भनेका छौं ।’ सहकारीको बिनियम पालना नभएकोले मुख्य समस्या आएको उनले टिप्पणी गरे । ‘आफन्तहरु पदाधिकारी र प्रबन्धक बनेको पनि देखियो, यो सहकारी बिनियम बिपरित छ,’ उनले भने, ‘एकाघरका सदस्य समेत एउटै समितिको पदमा बसेका छन् ।’ आफन्तको भीड एउटै सहकारीमा बस्दा ठगी बढेको उनले बताए ।
पछिल्लो समय कुश्माका ३ सहकारीमा ५५ करोड ठगी आरोपमा अध्यक्ष र पदाधिकारी पक्राउ परेका छन् । केही फरार छन् । अदालतसम्म मुद्दा पुगेका तीन सहकारीबाहेक थप ७ वटाको नगरपालिकामा उजुरी परेको शर्माले बताए । कसैले रकम हिनामिना भएको उजुरी गरेका छन् भने कसैले जथाभावी ऋण दिएको, असुल उपर नभएको, कसैले शेयर फिर्ता माग्दा नदिएको जस्ता उजुरी लिएर आउने गरेका हुन् । चुवा व्यवसायिक कृषि सहकारी, शिवालय बहुउद्देश्यीय सहकारी, बैसाली सहकारी, नगरविकास सहकारी, ‘मातृभूमि सहकारी र हिमालय खरेहा सहकारीका बचतकर्ता र शेयर सदस्यको उजुरीको चाङ लागेको हो ।
यसअघि तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठले २९ करोड ठगी गरेर भागेका छन् । उनीबिरुद्ध रेडकर्नर नोटिस निकाल्ने तयारी थालेको प्रहरी नायब उपरीक्षक खुललाल भुषालले बताए । त्यस्तै श्रेष्ठकै भाइ किशोर श्रेष्ठलाई माता पाथीभरा बहुउद्देश्यीय सहकारीमा ११ करोड ठगी गरेको आरोपमा अदालतले पुर्पक्षकालागि थुनामा पठाइसकेको छ । ग्रामीण कृषि सहकारीका अध्यक्ष लेखनाथ शर्मासहितका पदाधिकारीलाई पनि अदालतको आदेशले पुर्पक्षमा पठाइएको छ ।
शर्माले १ करोड ९५ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ । ‘अहिलेसम्म ५५ करोडको बिगो दाबीसहित अदालतले पदाधिकारीलाई थुना पठाउने आदेश दिएको हो,’ प्रहरी निरीक्षक केशव केसीले भने, ‘सबै फरारलाई पक्राउ गर्न सकियो भने बचतकर्ताको रकम फिर्ता गर्न सकिन्छ ।’ कतिपय शेयर सदस्यले विशेष साधारणसभा मार्फत पुनसंरचना गरेर जाने निधोमा पुगेको उनले बताए ।
अध्यक्षका आफन्त नै प्रमुख पदमा भएकोले ठगी भएको पीडितले गुनासो गरे । ‘रकम ठगेर भागेका बालगोपालका छोरी, ज्वाइ, दिदी र भान्जी समेत सहकारीको प्रमुख पदमा छन्,’ तपाई हाम्रो सहकारीका उपाध्यक्ष कृष्णप्रसाद पौडेलले भने, ‘आफन्त राखेर सहकारी संचालन गर्दा यो दुर्दशा भयो ।’






