पर्वत/जिल्लाको मोदी गाउँपालिकाका कृषकले बिमा दावी वापतको रकम प्राप्त गरेका छन् । शिखर इन्सोरेन्स कम्पनी र मोदीखोला बहुउेश्यीय सहकारीका वीचमा भएको सम्झौता बमोजीम कृषकहरुले बिमा दावी वापतको रकम प्राप्त गरेका हुन् ।सहकारीमा आवद्ध १६ जना कृषकले उक्त रकम प्राप्त गरेको कम्पनीका कुश्मा शाखा प्रमुख प्रकाश पौडेलले जानकारी दिए । मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले कृषकले प्राप्त गरेको कुल २ लाख ६५ हजार ६ सय रुपैया रकम कृषकलाई हस्तान्तरण गरेकी थिइन ।

मोदी गाउँपालिकाको वडा न २ र ५ का कृषकहरुले उक्त रकम प्राप्त गरेका हुन । कृषि पेशामा संग्लन्न कृषकहरुका लागि पछिल्लो समय निर्जिवन विमा सुविधा प्राप्त छ । आफ्नो कृषि ब्यवसायलाई बिमा मार्फत सुरक्षण गरिएको खण्डमा बिमा वापतको रकम प्राप्त हुने गर्दछ ।
सरकारले पछिल्लो समय कृषि बिमामा समेत सहुलिएत प्रदान गर्दै आइरहेको छ । कुनै पनि कृषकले आफ्नो बालीको बिमा गराउन चाहेमा कुल प्रिमियम रकमको ८० प्रतिशतसम्मको रकम सरकारले अनुदान दिने गर्दछ । कृषकको बालीनालीलाई क्षति न्यूनिकरण गर्नका लागि सरकारले कृषि बिमाको नीति ल्याएपछि पछिल्लो समय बिमा गर्ने कृषकहरुको संख्या बढ्दै गईरहेको छ ।
शिखर इन्सोरेन्स कम्पनी मार्फत मात्र पर्वतमा झण्डै ८ सय कृषकहरुले आफ्नो कृषिको बिमा गराएका छन् । जिल्लामा क्रियाशिल अन्य बिमा कम्पनीहरुमा समेत कृषकहरुले बिमा गर्ने गरेका छन् ।







