काँग्रेसको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न महामन्त्री गगन थापा पर्वत आउँदै

पर्वत/नेपाली काँग्रेस पर्वतको प्रदेससभा (क)को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न काँग्रेस महामन्त्री गगन थापा यही पुष १ गते पर्वत आउने भएका छन् । वडा हुँदै पालिका सम्मेलन सम्पन्न गरेको पर्वत काँग्रेस यतिखेर प्रदेश सम्मेलनको तरखरमा छ । संगठनलाई गतिशील र प्रभावकारी बनाउने उद्देश्यले विधानमा भएको व्यवस्थाअनुसार पार्टीले सबैतहका सम्मेलन गर्ने अभियानमा जुटेको नेपाली काँग्रेस प्रदेश सभा (क)का सभापति राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । ‘पार्टी विधानले निर्देशन गरेको नियमित कार्यक्रम भएपनि पहिलो पटक सम्मेलन गर्न लागिएकोले यसको विधिवत प्रक्रियाका वारेमा धेरै साथीहरूलाई अलमल छ ।’-सभापति क्षेत्रीले भन्नुभयो ।

सम्मेलनमा पार्टी सभापतिको राजनीतिक प्रतिवेदन, सचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछभने पार्टीले आगामी दिनमा गर्ने सांगठनिक कर्महरू र रणनीतिक योजनाहरूलाई समेत यो सम्मेलनले पारित गर्ने छ । कुश्माको युनिभर्सल पार्टी प्यालेसमा आयोजना गरिएको सम्मेलनको उद्घाटन सत्रमा महामन्त्री गगन थापा, काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको र सम्मेलनमा कुश्मा, जलजला र मोदीका क्षेत्रीय अधिवेशन प्रतिनिधिका साथै पार्टीका अन्य आमन्त्रित अतिथिहरूको सहभागिता रहने क्षेत्रीय सचिव केशवप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।