नगरप्रमुख जोशीद्वारा चुवा चक्रपथको शिलान्यास: कुश्माका २० सडक एकैसाथ निर्माण हुने

पर्वत/कुश्मा नगरपालिका वडा नं ८ चुवामा निर्माण हुन लागेको चुवा चक्रपथको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आज एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको छ । सडक शिलान्यास पछि बोल्दै नगरप्रमुख जोशीले कुश्माको भौतिक पूर्वाधारको लागि सघन शहरीबाट प्राप्त भएको ५० करोड रूपैयाँ अन्तर्गत यो सडकको शिलान्यास भएको जानकारी दिनुभयो । उहाँले यो बजेटबाट नगरपालिका भित्रका विभिन्न सडकहरू निर्माणको चरणमा रहेको र केही समयभित्र सबै सडक निर्माणको काम सुचारू हुने दावी समेत गर्नुभयो । -‘ नगरपालिकाको समग्र विकासका लागि नगरप्रमुखको हैसियतले म निरन्तर लागेको छु, धेरै काम सम्पन्न हुने चरणमा पनि छन्, तर विकासका लागि सबैको ऐक्यबद्धता आवश्यक छ ।’- नगरप्रमुख जोशीले भन्नुभयो । उहाँले पछिल्लो समय नगरपालिकाले गरेका राम्रा कामहरूलाई छायाँमा पारेर सामाजिक सञ्जालमा अनर्गल टिप्पणी गर्ने र नागरिकमा अफवाह फैलाउने केही मिडियाकर्मीहरूप्रति सतर्क रहन नगरबासीहरूमा अनुरोध गर्नु भएको छ । ‘निराधार आरोप लगाएर केही व्यक्तिहरूबाट नगरपालिकालाई बदनाम गर्ने काम भएको छ, त्यो भ्रम मात्रै हो ।’- जोशीले भन्नुभयो ।

कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु तिवारीले उपलब्ध बजेटलाई सही सदुपयोग गरेर गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई सुझाव दिनुभएको थियो । कार्यक्रममा कुश्मा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष सुरेन्द्र केसीले आफ्नो कार्यकालभित्र चुवामा शुरू भएका सबै योजनाहरू सम्पन्न गर्ने प्रतिबद्धता गर्नुभएको थियो । वडाअध्यक्ष केसीले चुवाबासीले आफूप्रति गरेको विश्वासलाई मर्न नदिने समेत वताउनु भएको थियो ।

कार्यक्रममा कुश्मा नगरपालिकाका संस्थापक उपप्रमुख सीता काफ्ले लामिछाने, नेपाली काँग्रेस पर्वत प्रदेश सभा (क)का सभापति राजकुमार क्षेत्री, नेपाली काँग्रेस चुवाका पार्टी सभापति लक्ष्मण पौडेल र नेकपा एमालेका प्रतिनिधि कुलप्रसाद पोख्रेल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले सडक निर्माण गर्दा कुश्मा नगरपालिकाको सडक मापदण्ड २०७४ अनुसार निर्माण गर्नुपर्ने धारणा राखेका थिए ।

कुश्मा नगरपालिका वडा नं ८ चुवाका वडाअध्यक्ष सुरेन्द्र केसीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन वडा सचिव राधाकुमारी शर्माले र स्वागत मन्तव्य वडाका सामाजिक परिचालक अम्बिका आचार्य पौडेलले गर्नुभएको थियो ।

कुश्मा नगरपालिकाभित्र निर्माणाधिन ९ हजार एकसय १३ मिटर सडक कालोपत्रे, ढलान तथा अन्य पूर्वाधार निर्माणका लागि ३५ करोड ७० लाख ३७ हजार चारसय ९४ रूपैयाँ ३० पैसा भ्याट सहित शिव शक्ति कन्ट्रक्सन काठमाडौंले जिम्मा लिएको छभने त्यस योजना अन्तर्गत नगरपालिका भित्रका २० वटा सडक १ ईकोनिक कम्प्लेक्स, विस्नुवाटिका पार्क, शौचालय कटेच, दुईवटा गेट र वडा नं १ र ७ को वडा कार्यालय भवन समेत यही बजेटमा सम्पन्न गर्ने लक्ष्य रहेको सघन सहरी कार्यालय बागलुङका ईन्जिनियर विकास अधिकारीले जानकारी दिनुभयो । साथै सोही कार्यक्रममा वडाको विकासको गतिमा विभिन्न कारणले भएको ढिलाईप्रति क्षमा माग्दै वैदिक क्षमा पूजा समेत सम्पन्न गरिएको छ ।