असोज १६,पर्वत/ २८ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अवसरमा विभिन्न कार्यक्रम भएका छन् । जेष्ठ नागरिकहरुको सम्मानका लागि जेष्ठ नागरिक संघ पर्वतले मोदीबेनी धाममा कविता बाचन कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । कार्यक्रममा ६० वर्ष पार गरेका जेष्ठ नागरिकहरुले नै रचना वाचन गरेर सुनाएका थिए ।
जेष्ठ नागरिकहरुको समस्या, उनीहरुले भोगेका पीडा, परिवारले गर्ने व्यवहार, जेष्ठ नागरिकहरुले पुराउने योगदानका विषयमा कविता प्रतियोगितामा रचना वाचन भएका छन् । कविता प्रतियोगितामा कुश्मा नगरपालिका ९ कटुवाचौपारीका दण्डपाणी शर्मा पौडेल पहिलो हुनुभयो । नारायण माविका पूर्व प्राचार्य पृथ्वीनारायण शर्मा दोस्रो हुनुभयो भने जलजला गाउँपालिका ३ का टेकनाथ शर्मा तेस्रो, फलेवास नगरपालिका ४ मुडिकुवाका यूवनाथ गौँडेल रेग्मी र कुश्मा नगरपालिका ३ का कुलप्रसाद उपाध्याय सान्त्वना हुनुभयो । प्रतियोगितामा उत्कृष्ठ भएका सृष्टाहरुले मोदीबेनी वृद्धाश्रमका लागि आफुले पाएको पुरस्कारको राशी दान गर्नुभएको छ ।
कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, उपप्रमुख सीता काफ्ले लामिछाने, कुश्मा नगरपालिका २ खुर्कोटका वडाध्यक्ष यदुनाथ बास्तोला, ४ का वडाध्यक्ष मीना कर्माचार्य, ५ का वडाध्यक्ष चित्रकला शर्मा, ७ का वडाध्यक्ष सुवासचन्द्र पौडेल, ९ का कृष्णप्रसाद शर्मा पनि सहभागी भएर मोदीबेनीमा रहेको जेष्ठ नागरिकहरुलाई फलफुल वितरण गरेर सम्मान व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै जेष्ठ नागरिक संघ पर्वतका अध्यक्ष लोकनाथ आचार्यले जेष्ठ नागरिकहरुका समस्या समाधान तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उनीहरुलाई बुढेसकालमा रोग, शोक र भोकले च्याप्दै जाने र परिवारले उचित रेखदेख नगर्ने गरेको बताउँदै यस्ता समस्याको समाधान तर्फ सरकारले ध्यान दिनुपर्ने आचार्यले बताउनुभयो । उहाँले पर्वतका ७ वटै स्थानीय तहका ६१ वटा वडामा जेष्ठ नागरिक समिति गठन गर्न लागिएको बताउनुभयो । कार्यक्रममा नृसिँह मन्दिर संरक्षण समिति र शिवालय क्षेत्र विकास समितिलाई सम्मानपत्रले सम्मान गरिएको छ ।
जेष्ठ नागरिक संघ जिल्ला कार्यसमितिका अध्यक्ष लोकनाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मानकुमारी गिरीले गर्नुभएको थियो भने सञ्चालन सचिव गुमानसिँह कार्कीले गर्नुभएको थियो ।





