कुश्मा नगरपालिका भित्रका ४२ जना युवाहरूलाई उद्यम विकास तालिम

पर्वत/उद्यमशीलता विकास समृद्धिको आधार: सुशासनयुक्त पर्यटकीय समृद्ध कुश्मा नगर भन्ने मूल नारा सहित कुश्मा नगरपालिकाले नगरभित्रका ४२ जना युवाहरूलाई लक्षित गरि नगरप्रमुखसँग उद्यम विकास तालिम संचालन गरेको छ । दुईदिनसम्म चल्ने उक्त तालिमको वुधवार नगरप्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभएको थियो ।

तालिम उद्घाटन पछि बोल्दै नगरप्रमुख जोशीले समाजमा देखिएको विद्यमान गरिबी, बेरोजगारी र अर्ध–बेरोजगारी जस्ता समस्यालाई समाधान गर्न यो तालिमको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले तालिमको माध्यमबाट नवीनतम सोच भएका वेरोजगार युवाहरूलाई ज्ञानमा आधारित व्यवसायहरू स्थापना तथा सञ्चालन गर्न उद्यमशीलता विकास तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । नगर प्रमुख जोशीले सबै सहभागीहरुलाई आफूले सिकेको सीपलाई जीवनपद्धतिको रूपमा विकास गर्न सुझाव दिँदै सहभागीको ईच्छाअनुसारको उद्यम गर्ने वातावरण सिर्जना गर्न नगरपालिकाले आवस्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।

कार्यक्रममा नगरपालिकाका सामाजिक शाखा प्रमुख डिलकुमारी शर्माले तालिमबाट सहभागीहरूको उद्यमशीलता सक्षमता अभिवृद्धि गर्न सहयोग पुर्‍याउने वताउँदै उद्योग व्यवसाय दर्ता, नवीकरण, तत्सम्बन्धी नीतिनियमहरू, सेवा–सुबिधाहरू, बैङ्क तथा वित्तीय संस्थाको ऋण लगानी तथा असुली प्रक्रिया आदिबारे पनि तालिममा प्रशिक्षण दिइने जानकारी दिनुभयो ।

तालिममा उद्यम विकास अधिकृत धुर्वराज पौडेलले सहभागीहरूको व्यावसायिक व्यवस्थापन क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।