पर्वतको वालाकोट जाँडरक्सी र जुवातास नियन्त्रित वडा घोषणा

असोज ९, पर्वत/जिल्लाको महाशिला गाउँपालिका वडा नं. ३, बालाकोट जाँडरक्सी र जुवातास नियन्त्रित वडा घोषणा भएको छ । सोमबार एक कार्यक्रमका बीच बालाकोटलाई जाँडरक्सी र जुवातास नियन्त्रित क्षेत्र घोषणा गरिएको हो । घोषणा कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य पदम गिरीले सामाजिक रुपान्तरण अभियानमा बालाकोटबासीले सुरु गरेको अभियान सह्रानीय भएको बताउनुभयो ।

कार्यक्रममा सांसद गिरीले समृद्धि उन्मुख मुलुकलाई लक्ष्यमा पुर्‍याउनका निम्ति सामाजिक विकृतिको पनि उन्मुलन आवश्यक रहेको बताउँदै महाशिला गाउँपालिकाले गरेको कार्यको प्रशंसा गर्नुभएको थियो । बालाकोटबासीले एक औपचारिक कार्यक्रममा सामूहिक रुपमा सपथ खाँदै आगामी दिनमा जाँडरक्सी, गाँजा र जुवातासबाट टाढै रहने प्रतिवद्धता जनाएका थिए । सांसद गिरीले जाँड रक्सी, गाँजा र तासलाई खाडलमा पुरेर अभियानको घोषणा गरेका थिए । महाशिला गाउँपालिकाले मातहतका सवै वडाहरुमा अभियानलाई तीव्रता दिएको छ । गाउँगाउँमा भेला र बैठकबाट सामूहिक प्रतिवद्धता जनाउँदै घोषणा कार्यक्रमलाई अघि बढाइएको महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताउनुभयो । उहाँले आगामी बैशाख सम्म गाउँपालिकालाई नै पूर्ण रुपमा जाँडरक्सी र जुवातास मुक्त बनाउने संकल्प प्रस्ताव गाउँपालिकाले पारित गरेको बताउनुभयो ।

यो अभियान पर्वत जिल्लाका सात स्थानीय तह अन्तर्गतकै पहिलो अभियान हो । अभियानले जिल्लाका सवै स्थानीय तहहरुलाई सिकाई भएको बताउँदै अन्य स्थानीय तहहरुलाई पनि यस्तो अभियानतर्फ ध्यान दिन समन्वय गर्ने जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर पौडेलले बताउनुभयो ।