पर्वत/विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले नागरिकलाई उत्पादनसँग जोड्ने योजनालाई प्राथमिकता दिने बताउनुभएको छ ।
गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा वडा नं. ६,चर्काङमा सुरु भएको तरकारी खेती सीप विकास सम्बन्धी एक हप्ते तालिमको उद्घाटन गर्दै अध्यक्ष गुरुङले नागरिकलाई स्व व्यवसायसँग आवद्ध हुने योजनाहरुलाई प्राथमिकता दिँदै बजेटको व्यवस्था गर्ने बताउनुभएको हो । आगामी बजेटहरुमा विकास निर्माणका कामसँगै उत्पादनमुखी कामहरुमा नागरिकलाई उत्प्रेरित गर्ने कार्यक्रमहरु ल्याइने जानकारी दिँदै अध्यक्ष गुरुङले समसामयिक समस्याहरुको समाधानको लागि जनप्रतिनिधिहरु दत्तचित्त भएर लागेको उल्लेख गर्नुभयो ।
अध्यक्ष गुरुङले–‘हामीले उद्यम विकासका कार्यक्रमहरुमा विशेष जोड दिएर काम गरेका छौँ,उत्पादन हुने र भएका फसलहरुको बजारीकरणमा पनि पालिकाले समन्वय गरिरहेको छ ’भन्नुभयो ।उहाँले कृषि उत्पादनलाई प्राथमिकतामा राखेर हरेक वडामा चिस्यान केन्द्रहरुको स्थापना गर्न आवश्यत लागत तथा संभाव्यता अध्ययन गरी फाइल पेश गर्न वडा अध्यक्षहरुलाई आग्रह गर्नुभएको छ । ‘चिस्यान केन्द्र स्थापना गर्न सके कृषि उत्पादनको मूल्य पर्छ’ उहाँले भन्नुभयो–‘कृषि नै नागरिकको आत्मनिर्भर बन्ने माध्यम हो, यसको व्यवस्थापन र उत्पादन वृद्धिको लागि आवश्यक पहल पालिकाले गर्छ ।’
नागरिकले उत्पादन गरेको कृषि फसलहरुलाई बजारसम्म पुर्याउन र बिक्री वितरणमा सहज होस् भन्ने उद्धेश्यले कृषि एम्बुलेन्स खरिद गर्न योजना बनाएकोमा पालिकाले सवारी खरिद गर्यो भन्ने अनर्गल प्रचार भएकोमा अध्यक्ष गुरुङले गुनासो व्यक्त गर्नुभयो ।





