प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि पर्वतमा उत्साहजनक रूपमा मनोनयन दर्ता

पर्वत/आसन्न मंसीर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि पर्वतमा आइतबार मनोनयन दर्ता प्रक्रिया उल्लासजनक रुपमा सम्पन्न भएको छ । एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र रहेको पर्वतमा यस पटक गठबन्धनबाट नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले उम्मेदवारी दिनुभएको छभने प्रदेशसभा (क)मा माओवादी केन्द्रका सुदिप कुँवर र प्रदेशसभा (ख) मा ऋषिकेश तिवारीले मनोनयन दर्ता गराउनुभएको छ । त्यसैगरि नेकपा एमालेको तर्फबाट केन्द्रीय सदस्य पदम गिरीले प्रतिनिधिसभा र प्रदेश सभा (क)मा भक्त कुँवर र (ख)मा मित्रलाल वस्यालले मनोनयन दर्ता गराउनुभएको छ ।

नेकपा एमाले र नेपाली कांग्रेस सहितको माओवादी केन्द्र गठबन्धनको मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । जस अनुसार नेकपा एमालेबाट पदम गिरीले प्रतिनिधि सभा सदस्यमा मनोनयन दर्ता गराउनुभएको छ भने
पर्वतमा आइतबार सम्पन्न मनोनयन दर्ताका क्रममा विभिन्न ९ राजनीतिक दलले प्रतिनिधि सभा सदस्य, ५ राजनीतिक दलले प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ र विभिन्न ४ राजनीतिक दलले प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार तय गरेका छन् । प्रतिनिधि सभा सदस्य तर्फ ३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा ३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो ।

मनोनयन दर्ताका क्रममा निर्वाचन आयोगले आचारसंहितालाई विशेष ध्यान पुर्‍याउन र उल्लंघन नगर्न स्थानीय राजनीतिक दल, सुरक्षा निकाय तथा अन्य विभिन्न निकायलाई अनुरोध गरेपनि राजनीतिक दलबाट नै आचारसंहिताको उल्लंघन भएको छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४ मा राजनीतिक दलहरुले मनोनयन दर्ताका क्रममा २५ जना भन्दा बढीको जुलुस प्रदर्शन गर्न नहुने र झण्डा व्यानरहरु प्रदर्शन गर्न नहुने उल्लेख गरेको भएपनि पर्वतमा ठूला राजनीतिक दलहरुले नै त्यसको उल्लंघन गरेका छन् । नेकपा एमाले र नेपाली कांग्रेस माओवादी सहितको गठबन्धनको समुहले छुट्टाछुट्टै जुलुसमा मोटरसाइकल र्‍याली सहित झण्डा, व्यानर लिएर मनोनयन दर्ताका क्रममा पुगेका थिए । मनोनयन दर्ता स्थलका रुपमा तोकिएको पर्वत जिल्ला अदालतको प्राङगण नजिकै पुगेपछि सुरक्षाकर्मीको टोलीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जुलुस प्रबेशमा रोक लगाएको थियो । मुख्य निर्वाचन अधिकृत आनन्द प्रसाद श्रेष्ठले राजनीतिक दलहरुले निर्वाचन आचरणको पालना गर्न विभिन्न सचेतना कार्यक्रम सञ्चालन गरिएको भएपनि पूणर् रुपमा पालना नगरेको बताउनुभयो । उहाँले मनोनयन दर्ता स्थलमा भने राजनीतिक दल र उम्मेदवारहरु सौहार्दपूणर् वातावरणमा प्रबेश गरेर मनोनयन दर्ता गराएको बताउनुभयो । अन्य साना राजनीतिक दलहरुले भने आचारसंहितालाई पालना गर्दै मनोनयन दर्ता प्रक्रियामा सहभागिता जनाएका थिए । पर्वतमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र सहित राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल सुशासन पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाली कांग्रेस विपी र हाम्रो नेपाली पार्टीले विभिन्न पदमा उम्मेदवारी दिएका छन् ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले सुचना सम्प्रेषणका लागि नयाँ अभ्यासको थालनी गरेको छ । कार्यालयले मनोनयन दर्ता प्रक्रियाका हरेक क्रियाकलापहरु सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष सार्वजनिक गरेको हो । जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले विशेष गरी सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुलाई खबर आदान प्रदानका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त कार्य गरिएको बताउनुभयो । अन्य गतिविधिहरु पनि सामाजिक सञ्जालमा प्रत्यक्ष रुपमा सार्वजनिक गरिने शर्माले बताउनुभयो ।