फलेवास नगरभित्रका सबै सडक दसैंअगावै सहज सञ्चालन गर्ने निर्णय

46

पर्वत/फलेवास नगरपालिकाभित्रका सबै ग्रामिण सडक दसैंअगावै सहज सञ्चालनमा आउनेभएका छन् । मंगलबार नगरपालिकामा आयोजित वडा सचिव तथा प्राविधिक सहायक कर्मचारीहरुका लागि फलेवास नगरपालिकाको राजस्व शाखाले आयोजना गरेको एक दिने अन्तरकृया तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले दसैंमा टिका लगाउने गाउँ आउने जोसुकै नगरबासीले गाडीको सुविधाबिना कोहि पनि नगरबासी घरसम्म पुग्नबाट बञ्चित हुन नपरोस् भनेर सोमबार नै ११ वटै वडामा आवश्यकता पहिचान गरि सडक मर्मतका लागि माग गर्न आव्हान गर्नुभयो ।

सबै वडा सचिवहरुलाई निर्देशन दिँदै नगरप्रमुख शर्माले भन्नुभयो, ‘तपाईंहरु भनेको स्थायी सरकार हो । स्थायी सरकारलाई कहाँ समस्या छ, कहाँको समस्या पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्ने राम्रोसंग जानकारी हुन्छ । त्यसैले आवश्यकताका आधारमा गुनासो टिपेर पालिकामा खबर गर्नुस् ।’ नगरप्रमुख शर्माले आफुले निर्वाचनका बेला गरेका बाचा संघ, प्रदेश र नगरपालिकामध्ये जुनसुकै माध्यमबाट भए पनि आगामी ४ वर्षभित्र पुरा गरेरै छोड्ने र त्यसका लागि कर्मचारीहरुको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले नगरपालिकामा नेतृत्व परिवर्तन हुनु सामान्य कुरा भएकोले स्थायी सरकारले जनप्रतिनिधि कुन दलको वा आस्थाको आयो भन्दा पनि समग्र नगरबासीको हितका लागि काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

उपप्रमुख शोभा कुमारी क्षेत्रीले गाउँगाउँमा शिंहदरबार भन्ने मन्त्रको मर्म बुझेर काम गरेपछि कुनै पनि नागरिकले दुःख नपाउने उल्लेख गर्दै त्यस मन्त्रलाई शिरोधार्य गर्दै काम गर्न वडा सचिवहरुलाई आग्रह गर्नुभयो । उहाँले फलेवास गाउँ नै गाउँको नगरपालिका भएकोले सानोसानो रकम संकलन गरेर करको दर नभई दायरा बढाउनुपर्ने र त्यसका लागि हरेक वडा सचिवहरु जिम्मेवार हुनुपर्ने बताउनुभयो । क्षेत्रीले नगरपालिकाभित्र ससानो व्यवसाय गर्ने व्यवसायीलाई पालिकाले स्थानीय स्तरमै दर्ता तथा नविकरणको व्यवस्था मिलाउने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलले कर्मचारीहरु आफु कार्यरत कार्यालयप्रति जिम्मेवार र बफादार बन्नुपर्ने बताउनुभयो । ‘हामी कुनै आस्था वा बिचारको भन्दा पहिला राष्ट्रसेवक कर्मचारी हो,’ उहाँले भन्नुभयो, ‘त्यसैले हामी आफु कार्यरत संस्था र सरकारप्रति बफादार बन्नैपर्छ ।’ कतिपय कर्मचारीहरुले नगरपालिकाको आधिकारिक सामाजिक सञ्जालको बेवास्ता गर्दै आफुखुशी राजनीतिक आस्था वा बिचारका उत्तेजक अभिव्यक्तिहरु सामाजिक सञ्जालमा पोष्ट गर्नेगरेकोले त्यस्ता गतिविधि रोक्न निर्देशन दिनुभयो ।

राजस्व शाखाले फलेवासको राजस्व संकलनलाई पुर्ण डिजिटल बनाउनका लागि वडा सचिवहरुलाई तालिम दिन लागिएको जानकारी दिनुभयो । अनलाइनबाट राजस्व संकलनका लागि हरेक वडामा आवश्यक पुर्वाधार निर्माण भइसकेकोले अब हरेक विषयको राजस्व संकलन अनलाइनबाटै हुनेमा विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा नगरपालिकाका ११ वटै वडाका वडा सचिव तथा सहायक कर्मचारीहरु सहभागि छन् ।